• २१ असार २०८१, शुक्रबार

बाँकेमा अन्तर्राष्ट्रिय मापदण्डको दोस्रो पौडी पोखरी निर्माण

blog

बाँकेका खजुरामा निर्माण गरिएको पौडी पोखरी । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगञ्ज, वैशाख ८ गते । बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माण गरिएको छ ।

जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ मा सो पौडी पोखरी निर्माण गरिएको हो । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नेपालगञ्जस्थित रंगशालामा ललितपुर पछिको देशकै सबैभन्दा ठुलो पौडी पोखरी निर्माण गरेर सञ्चालनमा आईसकेको छ । 

खजुरास्थित मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको निर्माण पुरा गरेर सञ्चालनमा ल्याउन लागेको उद्यानका सञ्चालक टेक श्रेष्ठले बताउनुभयो । 

उहाँले ‘स्वास्थ्य र सुरक्षाको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पौडी पोखरी संञ्चालनमा ल्याउन लागिएको जनाउँदै खेलाडी उत्पादन गर्ने उद्देश्यले पौडी पोखरीको निर्माण गरिएको बताउनुभयो । 

श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १२.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । 

करिब २ करोड रुपियाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ ।पौडी  पोखरीमा बालबालिकाकालागि छुट्टै १.५ फिट गहिराईको पोखरी पनि निर्माण गरिएको छ ।

सो पौडी पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको जनाईएको छ । लुम्बिनी प्रदेशका पौडी प्रशिक्षक चन्दरराम चौधरीले नयाँ खेलाडीलाई प्रशिक्षण दिनुहुनेछ ।

सो पौडी पोखरीमा विद्यार्थी तथा बालबालिकाका लागि ३०० रुपियाँ र अन्य व्यक्तिका लागि ३५० रुपियाँ मासिक शुल्क राखिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।