लीलाधर वली
घोराही, मङ्सिर २९ गते । दाङमा चालु आर्थिक वर्षको चार महिनामा घरेलु तथा साना उद्योग व्यवसायमा ४९ करोड बढी लगानी गरिएको छ । चालु आर्थिक वर्ष २०८२-०८३ को कात्तिक मसान्तसम्म जिल्लामा घरेलु तथा साना उद्योग व्यवसायमा ४९ करोड ६४ लाख ९० हजार रुपियाँ लगानी भएको हो ।
जिल्लामा लगानी भएको ४९ करोड ६४ लाख ९० हजारमध्ये उद्योगतर्फ २५ करोड १५ लाख ४० हजार र वाणिज्यतर्फ २४ करोड ४९ लाख ५० हजार रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार चार महिनाको अवधिमा उद्योग र वाणिज्य गरी तीन सय ७७ वटा फर्म दर्ता भएका छन् । जसमा एक सय ५० वटा उद्योग र दुई सय २७ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । जिल्लामा थपिएका उद्योग तथा व्यवसायमा पुरुष एक सय ३६ जना र महिला एक सय १६ जना गरेर दुई सय ५२ जना उद्यमी थपिएका छन् ।
तीन सय ७७ वटा उद्योग व्यवसाय थपिदा जिल्लामा तीन सय ५४ जना पुरुष र दुई सय २८ जना महिला गरी पाँच सय ८२ जनाले रोजगारी प्राप्त गरेकाको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । जिल्लामा कृषि, जडिबुटी, सेवामूलकलगायतका साना उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा खासगरी कृषि र सेवामुलक उद्योगहरु थपिने गरेको भन्दै सूचना अधिकारी पौडेलले भन्नुभयो,‘जिल्लामा थपिएका उद्योगलाई हेर्दा पछिल्लो समय कृषि सेवामुलक बढी रहेका छन् । अस्थीर अवस्थाका कारण पनि हुन सक्छ अन्य उद्योग व्यवसायमा लगानी बढ्न सकेको छैन ।’
यस्तै, जिल्लामा घरेलु उद्योग तथा वाणिज्य फर्मबाट पहिलो चौमासिकसम्म ५१ लाख ९९ हजार छ सय २३ रुपिँया राजस्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार यसरी सङ्कलन भएको राजस्व उद्योगबाट १९ लाख ६० हजार नौ सय पाँच रुपियाँ र वाणिज्य फर्मबाट ३२ लाख ३८ हजार सात सय १८ रुपियाँ सङ्कलन भएको हो ।