काठमाडौं, वैशाख ८ गते । राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।
सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब तथा आयोजक गरी ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको स्वीकृति रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपियाँ पाउनेछन् ।
प्रतियोगितामा सहभागी खेलाडी र अफिसियललाई खाने, बस्ने र यातायात खर्चको व्यवस्था आयोजकले गर्नेछ । प्रतिगोयतामा सहभागी खेलाडीको बिमा समेत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नेपाल सरकारबाट १५ लाख रुपियाँ बजेट विनियोजन भएको पनि आयोजकले जनाएको छ ।
बीच भलिबल खेलको विकाससँगै पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो । फाउन्डेसनले गत वर्ष महिला बीच भलिबल आयोजना गरेको थियो ।