• १३ वैशाख २०८१, बिहिबार

नेपालद्वारा ओमानलाई तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य

blog

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, वैशाख ८ गते । कुशल मल्लले शतकीय इनिङ्स खेलेपछि एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई जितको लागि तीन सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनायो । नेपालको यो एक दिवसीय इतिहासकै उच्च योगफल हो । 


दुई ओपनर कुशल भुर्तेल र आशिष् शेख गुमाएको नेपालका लागि कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाउनुभएको छ । उहाँको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।

उहाँ समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुनुहुन्छ । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हान्नुभएको थियो । 


यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाउनुभयो । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट हुनुभयो । 

बलिङमा ओमानका आयन खानले दुई विकेट लिनुभयो । विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिनुभयो । 

प्रिमियर कपको उपाधि चुम्ले लक्ष्य लिएको नेपाल बलियो ओमानसँग जित निकाल्ने अभियानमा छ । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यता ओमान पनि नेपाललाई हराएर लगातार दोस्रो जित निकाल्ने दाउमा छ । 


यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । दोस्रो जितको खोजीमा रहेको ओमान नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई टोलीबीच यसअघि ६ वटा एक दिवसीय खेल भएका छन् ।

जसमा ओमानले चार र नेपालले दुई खेल जितेको छ । पछिल्लो पटक दुई टोलीबीच आइसिसी विश्वकप लिग-२ सिरिज अन्तर्गत सन् २०२२ को जुनमा प्रतिस्पर्धा भएको थियो । अमेरिकामा खेलिएको सिरिजको पहिलो र दोस्रो  दुवै खेल नेपालले जितेको थियो । 

ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो । आजको खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेका लागि पनि विशेष महत्त्व रहेको छ । 

आजको खेलमा विकट लिएमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाउनुहुनेछ । सन्दीप यस कीर्तिमानबाट एक विकेटमात्र टाढा हुनुहुन्छ ।

उहाँले ४१ एक दिवसीय खेल्दै ९९ विकेट लिनुभएको छ । एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशि खानको नाममा छ ।

खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गर्नुभएको थियो । खानले सन् २०१८ मा बनाएको कीर्तिमान तोड्न सन्दीपले आज एक विकेट लिएमात्र पर्याप्त छ । 

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । 

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । 

ओमानविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।