मकवानपुर समाचारदाता
हेटौँडा, वैशाख ८ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले तेस्रो वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रदेश प्रमुखको कार्यालय हेटौँडामा बिहीबार आयोजित कार्यक्रममा आयोगका सदस्य रीना रानाले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।
आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हक अधिकारको संरक्षण तथा प्रथा परम्परालगायतका क्षेत्रमा नीतिगत व्यवस्था गरी कार्यसम्पादन गर्न पञ्चवर्षीय रणनीतिक योजना (२०७८–२०८३) तर्जुमा गरेको उल्लेख छ।
प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख शर्माले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तीकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव दिनुभयो। प्रतिवेदन पेस गर्दै आयोगका सदस्य रानाले आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवद्र्धन तथा सशक्तीकरण गर्न आयोग लागेको बताउनुभयो। यस्तै आयोगको प्रतिवेदनमा आदिवासी जनजातिको सांस्कृतिक पहिचान र प्रथा परम्पराको संरक्षणमार्फत आयआर्जन र रोजगारी सिर्जना गर्ने उद्देश्यले खुला जीवित सङ्ग्रहालय, नमुना सांस्कृतिक सम्पदा गाउँको अवधारणा तयार गरी स्थानीय तहमा कार्यान्वयन गर्न निर्देशन दिइएको जनाइएको छ।