• १३ असोज २०८१, आइतबार

नारायणी नदीमा सी बिच : गैँडाकोटतर्फ तटबन्धको डीपीआर बन्दै

blog

नारायणी नदीबाट उत्तरतर्फ सी बिच मोडलको तटबन्ध निर्माणको काम गरिँदै ।

शालिग्राम नेपाल 

चितवन, वैशाख ८ गते । नारायणी नदीपारि गैँडाकोटतर्फ पनि तटबन्ध बन्ने भएको छ । चितवनको नारायणगढतर्फ नारायणी नदीमा तटबन्ध निर्माण भएपछि नदीको अर्काेतर्फको गैँडाकोटमा क्षति हुने भन्दै विरोधमा उत्रेका स्थानीयको माग सम्बोधन गर्न नारायणी नदी व्यवस्थापन कार्यालय तयार भएको छ। 

एकातर्फ मात्र तटबन्ध निर्माण गर्दा गैँडाकोटतर्फ नदीको बहाव वृद्धि भएर कटान गर्न सक्ने भन्दै गैँडाकोटवासीले विरोध जनाएका थिए। स्थानीयको विरोधलाई ध्यानमा राखेर तटबन्धका लागि विस्तृत परियोजना प्रस्ताव तयार गर्ने र त्यसका आधारमा निर्माण कार्य अगाडि बढाउने तयारी भएको छ। गैँडाकोटवासीको माग सम्बोधन हुने भएपछि आन्दोलन फिर्ता भएको गैँडाकोट बचाऊ अभियान सङ्घर्ष समितिका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो। 

“हामीले निरन्तर दबाब दिएर आन्दोलन गरेपछि अब निर्माणको काम अगाडि बढाउने सहमति भएको छ। गैँडाकोटतर्फ नारायणी पुलदेखि ब्रिटिस क्याम्पससम्म करिब तीन किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न हामीले माग राखेका छौँ त्यहीअनुसार काम अगाडि बढाउन डीपीआरको काम सुरु भएको छ,” उहाँले भन्नुभयो ।  

नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख गणेश मरासिनीले नारायणगढतर्फको तटबन्धले गैँडाकोटमा असर नगर्ने दाबी गर्दै गैँडाकोटवासीको चासो र मागलाई भने सम्बोधन गर्ने बताउनुभयो। “गैँडाकोटतर्फ तटबन्ध गर्न डीपीआर तयार गरेर काम अगाडि बढाउने सहमति भएको छ। त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ। डीपीआरले कति बजेटमा कस्तो प्रकारको तटबन्ध गर्ने हो निष्कर्ष निकाल्छ, त्यहीअनुसार काम गर्नेछौँ,” प्रमुख मरासिनीले भन्नुभयो। 

यो सहमतिपछि नारायणगढ र गैँडाकोट दुवैतर्फ आकर्षक तटबन्ध बन्ने भएको छ। नारायणगढतर्फ निर्माण गर्नुअघि नै पारि (गैँडाकोटतर्फ)को पनि ध्यान दिन सकेको भए समस्या नआउने मरासिनीले बताउनुभयो। उहाँले भन्नुभयो, “ढिलै भए पनि अब निर्माणको प्रक्रिया अगाडि बढेको छ। यस वर्षको वर्षाअघि नै गैँडाकोटतर्फ बाढी पस्न नदिन बोटेबस्तीमा तारजाली हालेर रोकथाम गर्नेछौँ। यसअघि राखिएको तारजालीलाई मर्मत गरेर नयाँ तारजाली राखेर बाढी पस्नबाट रोकथाम हुनेछ। डीपीआरको रिपोर्ट आएपछि अन्य निर्माणको प्रक्रियामा अगाडि बढ्नेछ।” 

सी बिचको ७० प्रतिशत काम पूरा 

नारायणी नदी किनारमा निर्माण भइरहेको सी बिचको काम ७० प्रतिशत सम्पन्न भएको छ। १७ करोड रुपियाँको लागतमा नदीको पुलबाट उत्तरतर्फ ६४० मिटर लम्बाइको तटबन्धमा अहिले नदीतर्फ सिँढी निर्माण भएको छ। नदीतर्फ सिँढीसहित पैदल मार्ग, आकर्षक पार्क निर्माण गरिँदै छ। 

वर्षात्मा नदीको सतह बढेर जाने भएकाले असारअघि नै सिँढी निर्माण गर्ने कार्य सम्पन्न गर्ने गरी धमाधम कार्य भइराखेको नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शङ्कर बुढाथोकीले जानकारी दिनुभयो। 

१८ महिनामा सम्पन्न गर्नुपर्ने ठेक्का सुरु भएको तीन महिना भएको छ। यस वर्षको वर्षा हुनुअघि नै सिँढी निर्माण सकेर बाँकी निर्माण वर्षात्पछि गर्ने तयारीका साथ काम भएको कार्यालयले जानकारी दिएको छ। 

पुलबाट दक्षिणतर्फ काम हुँदै 

नारायणी नदीको पुलबाट उत्तरतर्फको निर्माणसहित दक्षिण मेघौली गोलाघाटसम्म पाँचवटा ठेक्कामार्फत तटबन्धको काम भइरहेको छ। ठेक्का नं. ३१ रामघाटदेखि काभ्रेघाट मङ्गलपुरसम्म एक अर्ब १५ करोड रुपियाँको लागतमा निर्माण हुँदैछ। यहाँ निर्माण हुने तटबन्धको माथिल्लो भागमा यात्रा गर्न मिल्ने गरी ग्राभेल सडक निर्माण हुने आयोजनाले जानकारी दिएको छ। 

त्यसैगरी ठेक्का नं. ३० अन्तर्गत गाजीपुरदेखि हीरापुरसम्म ४८ करोड ४७ लाख रुपियाँमा निर्माण भइरहेको र यस क्षेत्रमा आवश्यकताको आधारमा तारजाली र ठूला ढुङ्गा राखिने कार्यालयको भनाइ छ। यस्तै ठेक्का नं. २९ को सिसैदेखि बालुवासम्म ३७ करोड ४७ लाख रुपियाँमा र बालुवादेखि मेघौलीको गोलाघाट ठेक्का नं. १ मा २६ करोड चार लाख रुपियाँको लागतमा तटबन्धको काम भइरहेको छ।