• २२ असार २०८१, शनिबार

हिमालतिरै फर्किए भेडीगोठ

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख ७ गते । हिमाली क्षेत्रबाट चरनका लागि पहाड झरेका भेडीगोठ हिमाली भेगतिरै फर्किन थालेका छन् । पूर्वी नेपालको भित्री मधेश र महाभारत शृङ्खलामा अवस्थित उदयपुर जिल्लामा हिउँदको मौसम सुरु भएसँगै बढेको जाडो छल्न यता झरेका भेडीगोठ तराईमा गर्मी बढ्न थालेपछि हिमाली भेगतिरै फर्कन थालेका हुन् ।

ओखलढुङ्गा तथा सोलुखम्बु जिल्लाका भेडीगोठ अहिले उतैतिर धमाधम फर्किरहेका छन् । जाडो सुरु हुनुअघि सोलुखुम्बु, ओखलढुङ्गालगायतका जिल्लाबाट भेडीगोठहरू उदयपुरतर्फ आउने गर्छन् भने चैत दोस्रो साताबाट गर्मी सुरु हुन थालेपछि लेकतिरै फर्काउने गरिएको भेडीगोठालाहरू बताउँछन् ।

झन्डै सात सय भेडाका मालिक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५, रुम्जाटारका दुर्गाबहादुर गुरुङले जाडो मौसममा हिमाली क्षेत्रमा धेरै चिसो हुने गरेकाले गत कात्तिकमा उदयपुरको पहाडी क्षेत्रमा झरेका भेडीगोठ अब तराईमा गर्मी धेरै बढेपछि उकालो लागेका बताउनुभयो । उदयपुरको चरन क्षेत्रमा गर्मी बढेपछि माथि लेकतिर जान थालेको उहाँले बताउनुभयो ।

सामुदायिक वन क्षेत्रमा निश्चित मात्राको राजस्व तिरेर भेडीगोठ राख्ने गरिएको र यस जिल्लामा तावाश्री, सिरिसे, लिम्पाटार, ओख्ले, नामेटार, आँपटार, लेखानी, हर्देनि, राउतखर्कलगायतका धेरै स्थानमा गोठ राख्ने तथा खर्क बस्ने गरेका उहाँले बताउनुभयो । हरेक वर्ष हिउँदको मौसममा उदयपुरको पहाडी क्षेत्रमा दर्जनभन्दा बढी भेडीगोठ हिमाली क्षेत्रबाट झर्ने गर्छन् ।

हिउँदमा जन्मेका भेडाका साना पाठापाठी धेरै सङ्ख्यामा उदयपुरमै बिक्री हुने र बाँकी रहेका ओखलढुङ्गाको रुम्जाटारमा लगेर बेच्ने गरेको पनि भेडीगोठाला चन्द्रबहादुर गुरुङले बताउनुभयो । उदयपुरस्थित सामुदायिक वनका पदाधिकारीले भेडीगोठ राखेको भाडाबापत मनपरी पैसा लिएर दुःख दिने गरेको भन्दै उहाँले एउटा सामुदायिक वनले १० हजार रुपियाँसम्म रकम लिने गरेको गुनासो गर्नुभयो । 

गोठालालाई जसले खाने बस्ने प्रबन्ध गर्छ, उसैको बारीमा भेडाको बास अर्थात् खर्क राखिदिने चलन पनि रहेको र यसो गर्दा पहाडी क्षेत्रका कतिपय किसानको बारीमा भेडाको मलले अन्नबाली सप्रिने हुँदा  गाउँलेले आफ्नो बारीमा खर्क राखिदिन अनुरोधसमेत गर्ने गरेको उहाँ बताउनुहुन्छ । उच्च पहाडी भेगमा प्रशस्त पाइने कालो वनमारा, अम्रिसो र अन्य प्रजातिका वनस्पतिको बाक्लो झाडी नै भेडाको आहारा भएकाले दिनभर जङ्गलमा चराउने र रात परेपछि गाउँलेले माग नगरेको अवस्थामा भने खर्कमा लगेर बास राखिने उहाँले बताउनुभयो । 

यो वर्ष लेकाली भेगमा हिमपात नभएकाले चरनका लागि सजिलो हुने र भेडीगोठलाई उभौली र उधौलीको सूचकका रूपमा पनि लिने गरिएको गुरुङको भनाइ छ । उभौली सुरु भएपछि भेडीगोठ लेकतिर सारिन्छ  र उधौली सुरु हुनासाथ बेँसी झार्ने गरिन्छ । खर्क सार्दा बाटो चिन्ने भेडाहरू अगाडि हिँडेपछि अरूले पछ्याउने हुँदा थोरै जनशक्तिले पनि सयौँ भेडाको गोठालो गर्न सकिने उहाँ बताउनुहुन्छ ।