काठमाडौं, वैशाख ६ गते । हरेक वर्षको पहिलो हप्ता नेपाली सेनाले सञ्चालन गर्ने सैनिक आचार संहिता कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचार लगायतका विषयमा अत्यावश्यक जानकारीहरू स्मरण गराउने नेपाली सेनाको प्रचलन अनुरूप सैनिक आचार संहिता कार्यक्रम-२०८० सञ्चालन गरिएको हो । दुई दिन चलेको कार्यक्रमको प्रधान सेनापति प्रभुराम शर्माले समापन गर्नुभयो ।
समापन समारोहमा सकलदर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सैनिक आचार संहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएको र यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताउनुभयो । उहाँले हरेक सिपाहीले सैनिक आचरणहरूको निरन्तर स्मरण र पालना गर्नु नै सैनिक धर्म र कर्म रहेको बताउनुभयो ।
प्रधान सेनापति शर्माले सङ्गठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्ण रूपमा अनुसरण गर्दै एक ढिक्का भई नेपाली सेनाको मूल्य र मान्यता अनुरूप सङ्गठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो ।
उहाँले सकल दर्जामा उच्चस्तरको आचरण र नैतिक चरित्रको विकास गर्दै सदाचारपूर्ण संस्कार विकास गर्दै लैजानु हरेक तहका कमाण्डरहरुको दायित्व रहेको समेत बताउनुभयो ।
नेपाली सेनाका सकल दर्जाको सहभागिता रहेको सो कार्यक्रम अवधिभरमा नेपाली सेनाको मूल्य मान्यताहरू, नेपाली सेनाको परम्परा तथा शिष्टाचार, सोसल मिडिया प्रयोग, विभिन्न किसिमका भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार तथा बजेट, शिक्षक तथा शिक्षार्थीहरूले पालना गर्नु पर्ने आचार संहिता, भर्ना छनौट, लैङ्गिक आचरण तथा उपहार सम्बन्धी आचार संहिताहरूमा विषयविज्ञहरुबाट प्रस्तुतीकरण गरिएको थियो ।
जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका सम्पूर्ण फर्मेशन तथा युनिटहरूमा कार्यरत सकलदर्जा लाइभ मल्टिीकास्टबाट जोडिएका थिए ।