• १२ असोज २०८१, शनिबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

blog

रुस प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

काठमाडौं, वैशाख ६ गते । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आठ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेको छ । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल (पार्वती) लगायतको आठ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।

प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताउनुभयो । उहाँले दुई देशको संसदीय गतिविधि बारेमा जानकारी गराउने, भ्रमणको आदानप्रदान गर्ने, संसद्लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुने जानकारी दिनुभयो । उहाँले भ्रमणमा नौ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूची रहेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘उच्चस्तरीय भेटघाट हुनेछन् । दुई देशका संसदहरुको बीचमा एमओयु पनि हामी गर्नेछौँ । दुई देशको संसदीय गतिविधि बारेमा जानकारी गराउने, भ्रमणको आदानप्रदान गर्ने, संसद्लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुनेछ । दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यवसायीक व्यक्तित्वहरूसँग र प्रदेश प्रमुखसहित करिब नौ जना विशिष्ट व्यक्तित्वसँग भेट हुनेछ ।’’

भ्रमण टोलीमा रहनुभएका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताउनुभयो । उहाँले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको जानकारी दिनुभयो । सदस्य गौतमले आफूहरू नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा सङ्घीय संसद्को सद्भावसमेत रुसमा व्यक्त गर्ने बताउनुभयो । भ्रमण पूर्णरुपमा सफल हुने उहाँको विश्वास छ ।

‘‘दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा हाम्रो भ्रमण हुँदैछ । यो सम्भवतः रुसले हाम्रो राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी यति उच्चस्तरको भेट उच्चस्तरको भ्रमण पहिलो होला जस्तो लाग्छ मलाई हाम्रो यस पटकको भ्रमणको महत्त्व धेरै छ ।,’’ सदस्य गौतमले भन्नुभयो, ‘‘उच्चस्तरीय भेट भइसकेपछि हाम्रो तर्फबाट अध्यक्षले सम्पूर्ण विषयहरू राख्नुहुनेछ । नेपाली जनताको सद्भाव बोकेर रुस जाँदैछौँ । नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा सङ्घीय संसद्को समेत हाम्रो सद्भाव रुसमा गएर व्यक्त गर्नेछौँ । उताबाट पनि त्यत्तिकै महत्त्वका साथ हाम्रा सम्बन्धहरू भविष्यमा विकसित हुँदै जाने र नेपालको भ्रमण गर्ने अवस्था आउने नै छ । सद्भाव पूर्णरुपले सफल हुनेछ ।’’

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको आठ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।