अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ६ गते । आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साँझ जङ्गलबाट सुरु भएको आगलागी गाउँमा पुगेपछि घर र गोठ जलेको हो ।
आगलागी पश्चात् पुतली बजार नगरपालिको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिकको प्रयासमा चार घण्टामा नियन्त्रणमा आएको थियो ।
जङ्गलको बीचमा रहेका घरहरू अर्घाउदीमा दमकल सहितको सेना, सशस्त्रसहितको टोलीले गाउँ नै सखाप हुनबाट जोगाएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो ।
आगलागीबाट मानवीय क्षति भने नभएको तर घरमा रहेको अन्न, लत्ताकपडा र भाडाँहरु जलेर नष्ट भएको अध्यक्ष पौडेलको भनाइ छ ।