• १३ असोज २०८१, आइतबार

पाँच वर्षपछि झोलुङ्गे पुल उद्घाटन

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), वैशाख ६ गते ।  निर्माण सम्पन्न भएको पाँच वर्षपछि यहाँको एक झोलुङ्गे पुलको औपचारिक रूपमा उद्घाटन गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेग र बाँदुक गाउँ जोड्ने ३६५ दशमलव ८ मिटर  लामो झोलुङ्गे पुल शुक्रबार उद्घाटन गरिएको हो। 

पुल उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमवीर गर्बुजाले विकट बस्तीहरूलाई आपसमा  जोड्न लामो झोलुङ्गे पुल उपयोगी हुने र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। जिल्लाका अन्य स्थानमा पनि अध्ययन गरी आगामी दिनमा लामा र अग्ला झोलुङ्गे पुल निर्माणका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो।   पुलबाट बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थल निर्माण भएपछि पुल उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो। 

बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङदेखि बाँदुक–लामो पुल हुँदै बेग भएर पर्यटकीय स्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी धौलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाएको वडा अध्यक्ष फगामीले बताउनुभयो। 

तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको प्राविधिक कार्यालयले ठेक्कामार्फत छ वर्षपहिला दुई करोड ७९ लाख ९० हजार रुपियाँको लागतमा पुल निर्माण गरेको हो। उक्त पुललाई तत्कालीन समयमा नेपालकै लामो पुल दाबी गरिएको थियो। २०७५ वैशाख १ गते पुल खुला गरिएको थियो। झोलुङ्गे पुल निर्माणपछि तीन घण्टाको बाटो आधा घण्टामा छोटिएको छ।  बेग र बाँदुका बासिन्दालाई भिर, 

जङ्गल र खोल्साखाल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा अवधि छोटिएको छ। बाँदुक र तिप्ल्याङ गाउँका बासिन्दालाई बेग देउरालीस्थित वडा कार्यालय, स्वास्थ्य चौकीको सेवा लिन र विद्यालयमा पढ्न जान/आउन पुलले सहज बनाएको छ। २०७३ साल भदौदेखि सुरु भएको पुल निर्माण २०७५ वैशाखमा सम्पन्न भई आवतजावतका लागि खुला गरिएको थियो। 

पुलबाट अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको बेग, हिस्तान, दोवा, भुरुङ तातोपानी, चिमखोला, दग्नाम, पिप्ले, भगवतीलगायत वडाका तीन हजार पाँच सय घरधुरी लाभान्वित भएका छन्।