दिवाकर पोख्रेल
देउखुरी, वैशाख ६ गते । गाउँ तीनतर्फ खोलाले घेरिएको छ। खोलामा पानी पनि प्रशस्त छ तर त्यही खोलाको बीचमा रहेको गाउँ सुक्खा छ। दाङको गढवा गाउँपालिका–७, चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ। यी तीनवटै खोलाको बीचमा रहेको गाउँ पानीविहीन छ भने जग्गाजमिन सिँचाइ नहुँदा सुक्खा छ।
गढवा गाउँपालिका–७, चन्दनपुर निवासी जानकी चौधरीलाई खेतीपातीको समय नजिक आउँदा सिँचाइ असुविधाकै कारण चिन्ता सुरु हुन्छ। गाउँमा सिँचाइको सुविधा छैन। आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएपछि जानकीलाई बर्खामा पनि खेती गर्न समस्या पर्ने गरेको छ। जानकी भन्नुहुन्छ, “खेतीको समय आउँदा गाउँमा खुसी होइन, दुःखले घेर्छ। आकाशे पानीको भर पर्दा कहिले आधा खेती हुन्छ। कहिले खेती नै गर्न सकिँदैन।”
चन्दनपुर गाउँमा सतह सिँचाइको समस्या छ। यहाँको सिँचाइ समस्या समाधान गर्न भूमिगत पानीका लागि बोरिङ गाडिएको भए पनि विद्युतीय मिटर नहुँदा र भोल्टेज कम हुँदा सिँचाइ राम्रोसँग हुन सकेको छैन। स्थानीय सरोज चौधरीले बोरिङ गाडिएको भए पनि पानी नै नआउने समस्या रहेको बताउनुभयो। राप्ती नदीको पानी सिँचाइ गर्ने उद्देश्यले दस वर्षअघिबाट बड्कापथ सिँचाइ आयोजना लागू भएको छ। यो आयोजनाको पानी चन्दनपुर गाउँसम्म ल्याउन समुदाय स्तरबाट पहल भए पनि अहिले आयोजनाको लक्ष्य चन्दनपुरसम्म पानी ल्याउने योजनामा समेटिएको छैन। स्थानीय उमाकान्त डाँगीले २०२४ सालसम्म चन्दनपुर गाउँमा कुलोबाट सिँचाइ गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पुरानो सिँचाइको संरचना नासियो। अहिलेसम्म सुक्खा नै छ, जमिनमुनिको पानीले सिँचाइ गर्न लगानी बढी लाग्ने भयो। हामीलाई चाहिएको अब बड्कापथको पानी हो।”
चन्दनपुर गाउँको एक हजार दुई सय बिघा जमिन आकाशे पानी र भूमिगत पानीको भरमा छ। बड्कापथ कुलो सिँचाइ आयोजनाको निर्माण काम पनि सुस्त हुँदै गएको छ।