• ४ जेठ २०८१, शुक्रबार

बारा–२ मा उपनिर्वाचन : मतदाता फकाउँदै उम्मेदवार

blog

धीरेन्द्रप्रसाद साह/शिवशङ्कर मिश्र

जनकपुरधाम, वैशाख ६ गते । मधेश प्रदेशको बारा जिल्ला क्षेत्र नं. २ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तीनवटा पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यही वैशाख १० गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले) र जनमत पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो।

सो क्षेत्रमा स्वतन्त्रसहित २९ जना पुरुष र पाँच जना महिला गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। तीमध्ये जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमतका शिवचन्द्रप्रसाद कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने करैयामाई गाउँपालिका–२ का मतदाता आसमन हजराले बताउनुभयो। उहाँले भन्नुभयो, “उपेन्द्र यादव, कुशवाहा र पौडेलबीच कडा टक्कर हुनेछ।’’ यहाँका अधिकांश मतदाताको भनाइ यस्तै छ। यद्यपि केही मतदाताले भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशप्रसाद खरेल र आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवाली पनि प्रतिस्पर्धाकै क्रममा रहनुभएको बताउनुभयो।

पछिल्लो प्रधिनिधि सभा सदस्य निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मतले निर्वाचित हुनुभएको थियो। चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि रिक्त भएको यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। मतदानको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचारप्रसारलाई तीव्रता दिनुका साथै समर्थन, सहयोग र समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउन सक्रिय पनि देखिनुभएको छ। सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोसपालगायतको समर्थनमा उम्मेदबार बन्नुभएका जसपा अध्यक्ष यादवले गठबन्धन दलका स्थानीय, जिल्ला, क्षेत्रीय तथा शीर्षस्थ नेताबीच समन्वय गरेर चुनावी माहोल आफ्नो पक्षमा पार्न मतदाताको घरदैलोमा पुगेर मत माग्न सक्रिय रहनुभएको कलैयाका श्यामबाबु यादवले बताउनुभयो।  

सो क्षेत्रमा पार्टीको उम्मेदवारको पक्षमा समर्थन जुटाएर जिताउन जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि सक्रिय रहनुभएको छ। जनमत पार्टीका उम्मेदवारले पनि आफ्नो चुनावी एजेन्डासाथ मत मागिरहनुभएको छ। यसैगरी नेकपा (एमाले)का उम्मेदवार पौडेल पनि मतदातालाई रिझाउन सक्रिय हुनुहुन्छ। उम्मेदवारहरूले चुनावी भेला, बैठक, सभा गरेर मतदातालाई लोभ्याउन र फकाउन व्यस्त हुनुहुन्छ। 

मतदाता मौन

निर्वाचन क्षेत्रका सडक, गल्ली र बाटो जता हे-यो उतै उम्मेदवार र प्रचार गर्ने कार्यकर्ताको लावालस्कर नै देखिन्छन्। चिया पसल, पान पसल, खाजा घर, जहाँ दुई/चार जना भेट भयो भने चुनावको कुरा चलिहाल्ने देवताल गाउँपालिका–१ का मतदाता अनवर अन्सारीले बताउनुभयो। “उम्मेदवार र समर्थकहरू मतदातालाई विभिन्न तरिकाले फकाएर लोभ्याइरहेका छन् तर मतदाता कसलाई मत दिने भन्नेमा अझै खुलेका छैनन्,” उहाँले भन्नुभयो।

यहाँका मतदातालाई भावनामा बहकाउने प्रयास पनि गरिएको छ। चुनावको मुख्य एजेन्डा, प्रतिबद्धता, चुनावी घोषणापत्रमा भनिएका कु्रालाई प्रचारप्रसार क्रममा न्यून मात्रा उल्लेख गरेको पाइएको छ। एकअर्का उम्मेदवार र पार्टीमाथि कटाक्ष, हिलो छ्याप्ने, विरोध गरेर आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्ने प्रयास जारी छ। मतदाता कसरी आकर्षित हुन्छन् त्यसका लागि हरेक प्रयास उम्मेदवारहरूले गरिरहेका महागढीमाई नगरपालिका–३ का मतदाता अजयकुमार साहले बताउनुभयो। उहाँले भन्नुभयो, “लोभ लालच वा भावनामा बग्नुहुँदैन, जो राम्रो हुनुहुन्छ, उसैलाई जिताउनुपर्छ।” 

निर्वाचनको तयारी

उपनिर्वाचनमा ५८ हजार ९३४ पुरुष र ४६ हजार ३१४ गरी कुल एक लाख पाँच हजार २४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ। मतदानका लागि ८२ वटा मतदान स्थलमा १३७ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीले जानकारी दिनुभयो। मतदान गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको  जनाउँदै उहाँले भन्नुभयो, “तालिम सकिएलगत्तै बिहीबार/शुक्रबारदेखि मतदान सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिनुहुन्छ। 

गत निर्वाचनमा ६४ दशमलव ४४ प्रतिशत मत खसेको थियो। यस पटक पनि सोही हाराहारीमा मतदान हुन सक्ने अनुमान गरिएको छ। सो क्षेत्रमा क्रमशः यादव, दलित, वैश्य, मुस्लिम, थारू, पटेल, कुशवाहा समुदायका मतदाता अत्यधिक सङ्ख्यामा छन्। यस क्षेत्रमा तीनवटा गाउँपालिका र दुईवटा नगरपालिका गरी पाँचवटा पालिकामध्ये पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिका जसपा, दुई पालिका नेपाली कांग्रेस र एक पालिका एमालेले जितेको छ। यस क्षेत्रमा पचरौता र महागढीमाई नगरपालिका, देवताल, सुवर्ण, करैयामाई गाउँपालिका छन्।

जनताको अपार साथ, सहयोग र समर्थन पाइरहेकाले आफूलाई मत दिन मतदाता आतुर रहेको प्रस्तिपर्धीहरूको भनाइ छ। शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जना गर्ने दाबी गर्दै उम्मेदवारहरूले मतदातालाई रिझाउन कुनै कसर बाँकी राखेका छैनन्।