• १० मंसिर २०८१, सोमबार

मतदाता परिचयपत्र पहिचान सम्बन्धमा आयोगको निर्देशन

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ५ गते। निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचन सम्बन्धमा मतदाता परिचयपत्र पहिचान सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। 

आयोगको उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार विज्ञप्ति जारी गर्दै बारा निर्वाचन क्षेत्र २, चितवन २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिनुभयो। 

आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावलीको विवरणसँग भिडाएर यकिन गर्न आयोगले निर्देशन दिने निर्णय गरेको हो। 

मतदातालाई परिचयपत्र वितरण भएता पनि परिचयपत्र हराएको वा नासिएको अवस्थामा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको पनि सोही विज्ञप्तिमा उल्लेख छ।