• १७ असार २०८१, सोमबार

प्रतिनिधि सभा बैठक : तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग

blog

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिर : नवीन पौडेल/रासस

काठमाडौं, वैशाख ५ गते । प्रतिनिधि सभा बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै सांसद सापकोटाले नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्णरुपमा खुल्न लागेको भए पनि सरकारी कार्यालयको अभावमा समस्या पर्ने हो कि भनी प्रश्न गर्नुभयो ।

सांसद मानवीर राईले वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका एक नेपालीको शङ्कास्पद निधन भएको घटनाको छानबिन गर्न सरकारसँग माग गर्नुभयो । सांसद मेटमणि चौधरीले सङ्घीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेका केही भवन प्रयोग गरेबापतको भाडा बुझाउन एक व्यवसायीले अटेर गरेको पाइएकाले तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

सांसद रुपा विकले देशव्यापी रूपमा देखिएको जातीय विभेदको अन्त्य गर्न सम्बद्ध निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सांसद रघुजी पन्तले नारायणगढ–मुग्लिङ सडक खण्ड निर्माणसम्बन्धी फाइल हराएको उल्लेख गर्दै विस्फोटक पदार्थ उत्पादनमा ध्यान दिन र विकास निर्माणको कामलाई थप प्रभावकारी बनाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले मिटर ब्याज पीडितमाथि सोमबार भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो । सांसद चित्रबहादुर केसीले खेतीयोग्य जमिन बाटोलाई आधार बनाएर मूल्याङ्कन गरिँदा नागरिकले राजश्वसमेत तिर्न नसक्ने अवस्था आएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनुभयो ।