• १३ मंसिर २०८१, बिहिबार

पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण

blog

नयाँ भवन उदघाटन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख उमेशराज जोशी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, बैशाख ५ गते । जिल्लाको रम्भा –१, पीपलडाँडामा प्रहरीको आधुनिक भवन निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको एक करोड ९८ लाख लागतमा सुविधा सम्पन्न भवन बनेको हो ।  रम्भा गाउँपालिकाको कार्यालय, विद्यालय, रम्भा बजार, पीपलडाँडा लगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने गरी २०७६ सालमा प्रहरी चौकीको स्थापना भएको थियो । चौकी स्थापना भएको तीन वर्षपछि भवन बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

प्रहरीले बस्ने र सेवा दिने स्थान सुविधायुक्त बनाएर नागरिकलाई प्रभावकारी सेवा दिने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले बताउनुभयो । प्रहरी चौकीमा नागरिकले सबै खालका समस्या राख्न सक्ने र प्रहरीले सोहीअनुसार सहयोग गर्ने उहाँले बताउनुभयो । 

नेपाल प्रहरी सदैव जनताको हित चाहेर उनीहरूको सुख दुखमा सँगै रहने उहाँले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइलका कारण घरमै अपराध हुने अवस्था रहे पनि त्यसको न्यूनीकरणमा कसैको ध्यान जान नसकेको जोशीको भनाइ छ । रम्भामा स्थानीय बासिन्दाले भवन निर्माणमा धेरै सहयोग गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । 

२०७९ माघ मसान्तमा सम्पन्न भएको भवनमा सञ्चार कक्ष, प्रहरी अधिकृत कक्ष, महिला र पुरुषको छुट्टै थुनुवा कक्ष, पुरुष र महिला प्रहरी बस्ने कोठा, भान्सा, सेवाग्राहीलाई सेवा दिने कक्षको समेत सञ्चालन गरिएको छ । यस्तै, सेवाग्राही बस्ने स्थान, पार्किङ स्थानको समेत व्यवस्था गरिएको छ ।