काठमाडौं, वैशाख ५ गते । निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्गकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मङ्गलबार) अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिनुभएको थियो ।
हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगी अवलोकन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव शङ्करदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो ।
काठमाडौंलाई तराई/मधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । रासस