हरिकृष्ण ऐडी
मुगु, वैशाख ५ गते । सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज भएको छ। सरकारले उपलब्ध गराउने भत्ताले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकको दैनिकीमा सहयोग पु-याएको सामाजिक सुरक्षा भत्ता लिनेहरूले बताएका छन्।
छायानाथ रारा नगरपालिका–६ की ज्येष्ठ नागरिक हिउँकला भामका अनुसार त्रैमासिक रूपमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदा औषधि उपचार, न्यानो कपडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल, लत्ताकपडा खरिद गर्न सहज भएको छ। सामजिक सुरक्षा भत्ता पाएपछि लत्ताकपडा र औषधि उपचारका लागि परिवारका सदस्यसँग माग्न नपरेकोमा भामले खुसी व्यक्त गर्नुभयो।
कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ज्येष्ठ नागरिक, एकल महिला, कर्णाली बालपोषण र अपाङ्गता भएका २० हजार १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्। कार्यालय प्रमुख लक्ष्मीकृष्ण हमालका अनुसार जिल्लामा लाभान्वित सदस्यलाई एकमुष्ठ ३१ करोड एक लाख रुपियाँ कोष तथा लेखा नियन्त्रणको खातामा हरेक आर्थिक वर्षको साउन महिनामै जम्मा हुने गरेको छ।
जिल्लाका पालिकाले सामाजिक सुरक्षाका लागि त्रैमासिक रूपमा सामाजिक सुरक्षाको रकम निकासा गर्दै आएका छन्। जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाले सामाजिक सुरक्षाको भत्ता चौमासिकमा निकासा गर्ने कार्यविधि भए पनि पालिकाका ज्येष्ठ नागरिकको सहजताका लागि त्रैमासिक रूपमा लाभग्राहीको खातामा रकम जम्मा गरेको छ। सोरु गाउँपालिकाका सहलेखापाल जेठबहादुर बुढाले पालिकामा एउटा मात्र बैङ्क भएकाले सामाजिक सुरक्षाको कार्यसम्पादन ढिला हुने गरेको बताउनुभयो। उहाँले त्रैमासिक रूपमा रकम निकासा गर्न नसकिएको स्थितिमा चौमासिक रकम निकासा गरी लाभग्राहीको खातामा जम्मा गर्ने गरिएको जानकारी दिनुभयो।