• ७ जेठ २०८१, सोमबार

सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : महत

blog

काठमाडौँ, वैशाख ५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा महतले महासङ्घ नेतृत्व वर्तमान वित्तीय तथा आर्थिक समस्याका बारेमा सचेत र जानकार रहेको भन्दै देखिएका समस्या समाधानमा पहल थाल्न आग्रह गर्नुभएको थियो । “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा केही असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको अवस्था महसुस हुन सक्छ,” उहाँले भन्नुभयो, “तर, विद्यमान चुनौती सरकार र निजी क्षेत्र मिलेर हटाउन सकिन्छ ।”

बैङ्कर्ससमेत रहेका चन्द्रप्रसाद ढकाल महासङ्घको नेतृत्वमा आएको चर्चा गर्दै उहाँले देशको अर्थव्यवस्थाबारे जानकार व्यक्ति अध्यक्षमा नियुक्त हुनु राम्रो पक्ष हो भन्नुभयो । 

सरकारको कामप्रति आफू पनि असन्तुष्ट रहेको बताउँदै मन्त्री महतले राजनीतिक नेतृत्व र प्रशासनिक संरचनाले यो सत्य स्वीकार गरेर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो । “सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । देशको इफिसेन्सी बढाउने चुनौती छ,” डा. महतले भन्नुभयो, “हामी नीतिगत रूपमा धेरै कुरा भनेका छौँ तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।”

राजनीतिक विषय र आर्थिक दायित्वबीच तादात्म्य कायम नहुँदा कतिपय समस्या सिर्जना भएको डा. महतको भनाइ थियो । “बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादात्म्यका साथ हामीले सँगसँगै लैजानुपथ्र्याे तर त्यस्तो भइरहेको छैन,” उहाँले भन्नुभयो, “राजनीतिक आधारमा मात्रै एकपछि अर्को निर्णय गर्ने प्रतिस्पर्धा भयो तर परिवेश र वास्तविकता अर्कोतिर छ ।” 

अब यथार्थ विश्लेषण गरेर सरकार र निजी क्षेत्रले आआफ्नो क्षेत्रबाट सक्दो योगदान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

अर्थतन्त्रका समस्याका विषयमा नेपाल राष्ट्र बैङ्कको नेतृत्वसँग पनि विभिन्न औपचारिक र अनौपचारिक छलफल गरिरहेको भन्दै महतले आर्थिक सूचकहरू सकारात्मक दिशातर्पm उन्मुख भइरहेको बताउनुभयो । 

आर्थिक तथा मौद्रिक समस्या बुँदागत रूपमा ल्याउन र त्यस्ता विषयलाई मौद्रिक तथा आर्थिक नीतिमार्फत सम्बोधन गर्न सरकार तयार रहेको महतको भनाइ थियो । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या परेको भनिँदै आएकामा पछिल्लो समय बैङ्कर्स एसोसिएसनले ब्याजदरमा हेरेफेर गरेको 

उल्लेख गर्दै मन्त्री महतले अर्थतन्त्रका अप्ठ्यारालाई थोरै भए पनि सहयोग गर्न पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।