काठमाडौँ, वैशाख ५ गते । वैदेशिक रोजगार कार्यालयबाट हुने सेवालाई थप चुस्त र पारदर्शी बनाउन थालिएको छ । वैदेशिक रोजगारीमा जानेले अनलाइनबाट आवेदन दर्ता गरेर आएपछि पनि वैदेशिक रोजगार कार्यालयको शाखा/शाखामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सोमबारदेखि एउटै शाखाबाट सेवा दिन थालिएको हो ।
सो कार्यालयका सूचना अधिकारी वसन्तबहादुर बोहोराले पहिले सातवटा शाखाबाट हुने कामलाई सोमबारदेखि संस्थागत र व्यक्तिगत दुई शाखा बनाएर सेवा दिन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि धेरै शाखाबाट काम हुँदा कुनै शाखामा धेरै काम र कुनै शाखामा काम नहुने अवस्था थियो, अब त्यस्तो हुँदैन । काममा सन्तुुलन हुन्छ, यसले गर्दा सेवाग्राहीलाई धेरै पर्खिनु पर्दैन ।”
सो कार्यालयका अनुसार संस्थागत, काठमाडौँ अन्तिम, मलेसिया अन्तिम, कतार अन्तिम र साउदी अरब अन्तिम भनेर छुट्टाछुट्टै शाखा भएकामा सबैलाई एउटैमा संस्थागत शाखा ल्याई सेवा दिन सुरु गरिएको छ । यस्तै अर्को व्यक्तिगत र नवीकरण गरेर दुईवटा शाखालाई व्यक्तिगत शाखा बनाएर सेवा दिन थालेको सो कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुखदेखि सबै कर्मचारी एउटै हलमा राखिएका डेस्कहरूबाट सेवा प्रवाह गर्नेछन् । यसले थप पारदर्शिता हुनुका साथै काममा सहजता आउने कार्यालयका सूचना अधिकारी बोहोराको भनाइ छ ।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सदियौँदेखि जकडिएको ‘लुट’को जालो भत्काउँदै मन्त्रालयबाटै ‘सिस्टम अडिट’ सुरु गरेको छ । देशभरका कार्यालयबाट सम्पादन हुने काम अनुगमन गर्न सिस्टम जडान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसले कुन कार्यालयले कुन काम कति अवधिदेखि अड्काएको छ भन्नेसम्म हेर्न सकिनेछ भने बिनाकारण अड्काएको भेटिए त्यस्ता कर्मचारीलाई तत्काल कारबाहीसम्म गर्न सकिनेछ । वैदेशिक रोजगारका सबै सेवा अनलाइन बनाइसकेको श्रम मन्त्रालयमा अहिले पनि ठगीका, काममा भएका ढिलासुस्तीका गुनासो आउने क्रम नरोकिएपछि सिस्टम अडिट लागू गरेको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले दशकौँदेखि जकडिएको जन्जाल एकैचोटि तोड्न सम्भव नभए पनि कर्मचारी नेतृत्वबाट इमानदार प्रयास रहेमा धेरै हदसम्म सुधारको सम्भावना रहेको बताउनुभयो ।