• १४ पुस २०८१, आइतबार

पाठ्यपुस्तकको नयाँ उत्साह

blog

विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । भर्ना अभियान चलेको छ । योे बालबालिकाका लागि सबैभन्दा खुसी र उमङ्गको बेला हो । विद्यालयमा जान पाउनु, नयाँ कक्षामा उक्लिनु अनि नयाँ किताब पाउनु आहा ! उहिल्यै नयाँ कक्षाका किताब दाजुदिदीले पढ्दा केरमेट गरेका, अलिअलि च्यातिएका भए पनि सस्तोमा किनेर पढ्न पाउँदा पनि उमङ्गित हुन्थे विद्यार्थी । नयाँ किताब त एकादुई पाइन्थो त्यो पनि नयाँ कक्षा सुरु भएको धेरै समयपछि । अझै पनि सबै विद्यार्थीले नयाँ शैक्षिक सत्रका तहगत पाठ्यपुस्तक नपाएर परीक्षा आउने बेलासम्म पनि शिक्षकले पढाएको भरमा मात्र परीक्षा दिनु परेको कथा हरेक वर्ष सुनिन्छ । विद्यालयका विद्यार्थीको मनोविज्ञानलाई बढाउने वा झार्ने शक्तिशाली पुस्तक नै समयमा उपलब्ध गराउन सक्दैनथ्यो सरकारले । सबैका लागि अनिवार्य आधारभूत (माध्यमिक तहसम्म) भन्ने संवैधानिक प्रबन्ध गरेको राज्यले पाठ्यपुस्तकचाहिँ बेच्छ तर त्यो पनि समयमै पु¥याउन नसक्ने । यस पटकचाहिँ विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ ।

 विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो तर यस पटक भने सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन ग¥यो । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र (जशिका) ले छापेका छन् । विगतमा प्रायः जशिकाले नै पाठय्पुस्तक छपाइ र वितरणको जिम्मा लिएको थियो । अधिकार खोकिलामा च्याप्ने तर समयमा पर्याप्त पुस्तक छाप्न र वितरण गर्न नसक्ने अवस्था त्यो सरकारी संस्थाको हालत थियो । यस्तो अवस्थाको व्यापक आलोचनापछि निर्धारित पाठ्यपुस्तक छपाइ कार्य विकेन्द्रित गरियो । फलतः यस पटक सुगममा भन्दा दुर्गममा पहिला पाठ्यपुस्तक पुगेका छन् । जशिकाका अनुसार तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु-याई सकिनेछ ।

पाठ्यपुस्तक विद्यार्थीले भर्ना भएकै दिन पाउनुले विद्यार्थीमा सुरुमै उत्साह सिर्जना गर्नेछ । हुम्लाजस्तो ठाउँमा पनि पहिलो पटक समयमै पाठ्यपुस्तक पुगेको छ । दुर्गम क्षेत्रमा  पठाइसकेपछि सुगमको पालो आउने प्रबन्ध गरिएको छ । त्यसो त हातमा पुस्तक नभए पनि इन्टरनेटबाट पुस्तक पढ्न पाइने सुविधा आएको छ तर इन्टरनेटको सुविधा सुलभ छैन । अनि आमा नभए मामाको मुख हेर्नु भने पनि इन्टरनेट र हातको पाठ्यपुस्तकको प्रभाव फरक परिहाल्छ । पाठ्यपु्स्तक शिक्षण प्रक्रिया वा विधिको महत्त्वपूर्ण सामग्री हो । यो कुनै विद्यार्थी, शिक्षक वा हर मनुष्यका लागि ज्ञानबद्र्धक तथा पथप्रदर्शक हो । यो आफैँमा गुरु हो । विद्यार्थीलाई नैतिक, सुसंस्कृत, ध्यानी, ज्ञानी बनाउन कक्षाकोठामा प्रयोगका लागि विशेषज्ञले सावधानीपूर्वक तयार पारिएको हुनुपर्छ यो । यसले जिज्ञासा र ज्ञान बढाउँछ । विद्यालयमा पढाइएको कुराको स्मृति गराउँछ । 

पुस्तककै आधारमा विद्यार्थीले नयाँ खोजअनुसन्धान गर्छन् । सीप, उद्यम सिक्छन् । पाठ्यपुस्तककै आधारमा उनीहरूले आफ्नो समाज, राष्ट्रको इतिहास जान्छन् र एकताबद्ध हुन सिक्छन् । अनि शिक्षकले के पढाउने, सिकाउने भन्ने मार्गदर्शन यिनै पाठ्यपुस्तकबाट पाउँछन् उनीहरूले भोलि के सिकाउने भन्ने यसकै माध्यमले थाहा पाउँछन् । यस्तै कारणले विद्वान्ले भनेका हुन्,  “पुस्तक अरू कुनै पनि हतियारभन्दा महत्त्वपूर्ण अस्त्र हो । यो पूmलबारी हो, ज्ञानको भण्डार पनि हो । यसले कुनै यातना दण्ड नदिई, परीक्षा नलिई, गाली नगरी शिक्षा दिन्छ । यो बफादार साथी पनि हो । त्यसैले त बालबालिकाले नयाँ पाठ्यपुस्तक पाउँदा आनन्दी मन बनाउँछन् ।” हो, यति महत्त्वपूर्ण पाठ्यसामग्री मुलु्कको भविष्य अपेक्षा र आवश्यकताअनुरूप जनशक्ति उत्पादन गर्न गुणस्तरीय उत्पादन एवं वितरण अपेक्षित छ ।