• १४ पुस २०८१, आइतबार

औद्योगिक क्षेत्रभित्रको सडक स्तरोन्नति हुँदै

blog

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख ४ गते । हेटौँडा औद्योगिक क्षेत्रभित्र लामो समयदेखि जीर्ण बनेको सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ।

औद्योगिक क्षेत्रभित्र झन्डै १९ किमि सडक रहेकोमा अधिकांश कि ग्राभेल सडक छ कि त कालोपत्रे भत्किएर जीर्ण अवस्थामा छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कपडा उद्योगदेखि खाद्य उद्योगसम्म र कमाने गेटदेखि त्रिमूर्ति प्लास्टोसम्मको सडकखण्ड कालोपत्रे गर्न लागेको हो।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले एक हजार पाँच सय मिटर जीर्ण सडक पुनर्निर्माणका क्रममा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले साढे तीन करोड रुपियाँको लागतमा स्तरोन्नतिसहित कालोपत्रे गर्न सडकमा बेस हाल्नेलगायतका काम सकिएको बताउनुभयो।

यसैगरी कार्यालयले औद्योगिक क्षेत्रभित्र रहेको नेपाल बैङ्कदेखि हनुमान गेट र हनुमान गेटबाट कपडा उद्योगसम्मको ८१९ मिटर सडकखण्ड कालोपत्रे गर्न गत आर्थिक वर्षमा ठेक्का लगाएकोमा निर्माण कम्पनीले काम नगरेपछि ठेक्का सम्झौता अन्त्य गरेको छ।

निर्माण कम्पनीले सडक कालोपत्रे गर्न ४७ लाख ७६ हजार ५९१ रुपियाँमा ठेक्का सम्झौता गरे पनि काम नभएपछि निर्माण कम्पनी हेटौँडा उपमहानगरपालिका–६ स्थित शिवालय बिल्डर्ससँगको ठेक्का सम्झौता यही चैत १५ गते रद्द गरेको हो। गत वर्ष मङ्सिर २७ देखि गत कात्तिक २४ भित्र कालोपत्रेलगायतका काम गर्ने गरी निर्माण कम्पनी र कार्यालयबीच ठेक्का सम्झौता भएको थियो। 

क्षेत्र व्यवस्थापक बिनाडीले ठेक्का सम्झौताको म्याद सकिँदासमेत कुनै पनि काम अगाडि नबढाएका कारण निर्माण कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गरेको बताउँदै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइनेसमेत जानकारी दिनुभयो। 

नेपाल बैङ्कदेखि हनुमान गेट र हनुमान गेटबाट कपडा उद्योगसम्मको ८१९ मिटर सडकखण्ड कालोपत्रे गर्न आर्थिक प्रस्ताव मागका लागि स्वीकृति लिन केन्द्रमा पठाइएको भन्दै उहाँले यही आर्थिक वर्षभित्र बोलपत्र आह्वान गरी कालोपत्रे गर्ने योजना रहेको सुनाउनुभयो।

उहाँले लामो समयदेखि सडक र भवनहरू मर्मतसम्भार नगर्दा जीर्ण बनेको बताउँदै औद्योगिक प्रयोजनका लागि निर्माण गरिएका छवटा भवन जीर्ण भएकाले आगामी आर्थिक वर्षमा निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।