• १ पुस २०८२, मङ्गलबार

महिलाको जीवनशैलीमा परिवर्तन : समूह गतिविधिले निर्माण गर्‍यो सफलताको नयाँ मोड

blog

सामुहिक छलफलमा समूहका सदस्यहरु । तस्बिर : एकेन्द्र महता

अछाम, पुस १ गते । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ का महिलाहरु, जो कहिल्यै चुल्होचौकाबाट बाहिर आउन सक्दैनथे, अहिले विकासदेखि आयआर्जनसम्मका काममा नेतृत्व भूमिकामा देखिन थालेका छन् । महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजनाअन्तर्गत गठन भएका आत्मनिर्भर महिला समूहहरु मार्फत महिलाहरुको जीवनशैली उल्लेखनीय रुपमा फेरिएको हो ।

आर्थिक असक्षमताबाट आत्मनिर्भरताको यात्रा
पहिले सानै आवश्यकतामा पनि अरुको भर पर्नुपर्ने बाध्यता झेल्दै आएका महिलाहरु अहिले आफूले बचत गरेको रकमबाट नै आवश्यकता अनुसार ऋण लिन र लगानी गर्न सक्ने भएका छन् ।

सिद्धेश्वरमा गठन भएका ८ वटा आत्मनिर्भर समूहले नियमित बचत, सहुलियत ऋण र सीपमूलक गतिविधि मार्फत सदस्यहरुको आर्थिक अवस्था मजबुत पार्नु उन्मुख भएका छन् ।

कालभैरव आत्मनिर्भर समूहका सदस्य पवित्रा बोहरा भन्नुहुन्छ, “हाम्रो समूहको बैठक हप्तामा एक पटक गरेर मासिक चार पटक बस्छ, हामीले हप्तामा प्रति व्यक्ति २५ रुपियाँ गरी महिनामा एक सय रुपियाँ सजिलै बचत गर्छौँ । सुरुमा भीडमा बोल्न सक्दैनथ्यौँ, अहिले विभिन्न बैठक तथा कार्यक्रममा खुलेर कुरा गर्छौँ ।”

विकासमा महिलाको नेतृत्व
पहिले विकास निर्माण कार्य कहिले, कसरी हुन्छ भन्ने थाहा नहुने महिलाहरु अहिले वडा कार्यालयसँग हातेमालो गर्दै गाउँकै विकासका योजनाहरुसँग पनि सहकार्य गर्न अघि सर्ने प्रयास गरि रहेका छन् ।

कालभैरव आत्मनिर्भर समूहका सदस्य देवसरा स्वार भन्नुहुन्छ,–“हामीलाई पहिले विकासका बारेमा कुनै जानकारी थिएन । समूहमा बसेपछि मात्र योजना बनाउने तरिका सिक्यौँ । अहिले त हाम्रो पहलमा कालभैरव मन्दिरदेखि नौलाकोटसम्मको गोरेटो बाटो समेत बनेको छ ।” उनीहरुको यस सक्रियताले गाउँमा महिलाको भूमिका प्रति समुदायको दृष्टिकोण नै परिवर्तन गरेको छ ।

कृषि तथा पशु पालनमा अग्रसर महिला
समूहमा छलफलपछि कृषिलाई आयआर्जनको स्थायी विकल्पका रुपमा अगाडि बढाइएको छ । परियोजनाबाट प्लास्टिक टनेल, बीउ–बिजन लगायत सामग्री पाएपछि जानकी कुँवर जस्ता सदस्य व्यावसायिक तरकारी खेतीमा लाग्नु भएको छ । जानकी भन्नुहुन्छ, “समूहमा बसेपछि अगुवा कृषकका रुपमा पहिचान पाइयो । हाम्रै समूहबाट २० हजार रुपियाँ ऋण लिएर गाई किनेँ । गाई पालनबाट ५० हजारभन्दा बढी कमाएँ । अब घर खर्च चलाउन अरुको भर पर्नु पर्दैन ।”

यसैबिच, समूहले सामूहिक रुपमा गरेको अदुवा खेतीबाट १२ हजार रुपियाँ नाफा आम्दानी गरिएको छ । अन्य सदस्यहरुले समेत बाख्रा तथा गाई पालन व्यवसाय विस्तार गर्दै दैनिक तीन सय देखि पाँच सय रुपियाँ दैनिक आम्दानी गरिरहेका छन् ।

सामाजिक चेतनामा उल्लेखनीय सुधार
समूहका साप्ताहिक बैठकहरुले छाउपडी, घरेलु हिंसा, बाल विवाह, लैंगिक विभेद तथा बालबालिकाको स्वास्थ्य–पोषणबारे गहिरो चेतना फैलाएको छ । महिलाहरुले अब ‘छोराछोरी समान’ भन्ने अवधारणालाई गाउँमै व्यवहारिक रुपमा लागू गर्न थालेका छन् । सन्तानलाई नियमित विद्यालय पठाउने, घरको सरसफाई राख्ने र पोषणयुक्त आहारामा ध्यान दिने व्यवहार तिनै बैठकबाट सुरु भएको हो ।

समुदायलाई बाँध्ने एकताका धागाहरु
परियोजनाका सामाजिक परिचालक गीता कठायत कुँवर भन्नुहुन्छ, “सुरुमा महिलाहरुलाई एक ठाउँमा ल्याउनै गाह्रो थियो । अहिले उहाँहरु आफैं बैठक बोलाउनु हुन्छ, योजना बनाउनु हुन्छ, कार्यान्वयनमा अग्रसर हुन थालेका छन् ।” उहाँका अनुसार वडासँगको सहकार्यले महिलाको आवाज निर्णय प्रक्रियासम्म पुग्न थालेको छ ।

जीवन स्तरमा स्पष्ट सुधार
समूहमा आवद्ध महिलाहरू अहिले आयआर्जन मात्र होईन, सामाजिक नेतृत्व, घरेलु निर्णय, योजना निर्माण र समुदायको विकासमा पनि सक्रिय देखिन थालेका छन् । उहाँहरुको सक्रियताले ग्रामीण वस्तीमा परिवर्तनको नयाँ उदाहरण पनि स्थापित गरेको छ ।

स्थानीय स्तरमै परिवर्तनको बीउ उम्रियो
अछामको साँफेबगर–३ मा महिला समूहहरुको प्रयासले गर्दा देखाएको परिवर्तनले प्रमाणित गर्न सक्ने सन्देश दिएको छ । त्यसैले महिला सक्रिय भए परिवार उकासिन्छ, परिवार उकासिँदा समाजै परिवर्तन हुन्छ ।”जब महिलालाई अवसर, पहुँच र विश्वास दिइन्छ, उनीहरु समुदाय विकासको सबैभन्दा बलियो आधार बन्न सक्छन् ।