• १४ पुस २०८१, आइतबार

पुस्तक खरिदमा छैन छुट

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, वैशाख ४ गते । आइतबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावक आफ्ना बालबालिकाका लागि पुस्तक खरिद गर्न पुस्तक पसल तथा स्टेसनरी धाउने क्रम सुरु भएको छ। 

अघिल्ला वर्षहरूमा अभिभावकले पुस्तक खरिदमा केही प्रतिशत छुट पाउने गरे पनि यस वर्ष अधिकृत तथा खुद्रा पुस्तक व्यवसायीले छुट नदिएकोमा अभिभावकले गुनासो गरेका छन्। 

नव प्रभात पुस्तक भण्डार बनेपाका सञ्चालक तथा पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य कृष्णराम कार्कीले पुस्तकको मूल्य १० वर्ष अघिदेखि यथावत् रहेको र कागजको मूल्य अत्यधिक बढेका कारण यस वर्ष पुस्तक प्रकाशकले व्यवसायीलाई समेत कम छुट दिएका कारण अभिभावकलाई पुस्तक खरिदमा कुनै छुट दिने अवस्था नरहेको बताउनुभयो। उहाँले आर्थिक मन्दीले गर्दा खुद्रा व्यापारीले आवश्यकताअनुसार किताब ल्याउन नसकेका कारण बजारमा किताब अभाव देखिएको बताउनुभयो। 

प्रगति पुस्तक भण्डार बनेपाका सञ्चालक तथा पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष सुबिन मानन्धरले सामुदायिक विद्यालयका सबै किताब उपलब्ध रहेको भन्दै कागजको मूल्यवृद्धिका कारण निजी विद्यालयका किताब भने कम मात्रामा आएको बताउनुभयो। उहाँले निजी विद्यालयको कक्षा ५, ८ र १० को किताब परिमार्जन भएकाले पूरै सेट किताब बजारमा नभएको भन्दै वैशाख १५ भित्र निजी विद्यालयका सबै किताब बजारमा आउने बताउनुभयो।

पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष भीमकुमार आचार्यले जिल्लामा सामुदायिक विद्यालयको कक्षा ९ को लेखा विषयबाहेक कक्षा ६ देखि १० सम्मका पुस्तक जनक शिक्षा सामग्रीबाट प्राप्त भएको बताउनुभयो।