• ४ जेठ २०८१, शुक्रबार

गोली घटनाका आरोपीहरु प्रहरी नियन्त्रणमा

blog

यादवराज पुरी

रौतहट, वैशाख ३ गते । रौतहटमा गोली लागि एक जनाको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिकाबाट १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सडक विस्तार गर्नेक्रममा स्थानीयबीच बिवाद हुँदा स्थानीयद्वारा चलाइएको बन्दुकको गोली लागि ५० वर्षीय रामकुमार राय यादवको हिजो मृत्यु भएको थियो । पालिकाको वडा ८ धोबिनियाँ टोलको सडक चौडा गर्नेक्रममा सडकछेउ जमिन भएका रामईश्वर राय र राजकुमार रायबीच बिवाद भएको थियो । 

दुबै पक्षले आफ्नो जमिन सडकमा पर्न नहुने भन्दै बिगत केही दिनदेखि बिवाद गर्दैआएका थिए । शनिबार अपरान्ह भएको दुई पक्षबीचको बिवाद चर्केपछि रामईश्वर पक्षबाट गोली चल्दा राजकुमार घाइते हुनुभएको थियो । उपचारका लागि अस्पताल लैजाँदा बाटोमा उहाँको मृत्यु भएको थियो । स्थानीय निरञ्जन राय, प्रताप यादवसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रहरीले आइतबार अपरान्ह सम्ममा सो घटनामा संलग्न रहेको आशंकामा स्थानीय लालबाबु यादव, बच्चा गिरी, रामसेवक राय, श्याम यादव, उमेश यादव, प्रदिप यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादवसहित १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

घटनामा संलग्नलाई कारवाही नभएसम्म मृतक यादवको शव परिवारजनले नबुझ्ने बताएका छन् । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । घटनामा प्रयोग भएको १२ बोरको बन्दुक समेत प्रहरीले बरामद गरेको छ । घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।