• १० मंसिर २०८१, सोमबार

बेल्जियमको लुभेन सहर बन्यो मिनी नेपाल

blog

केजिन राई 

ब्रसेल्स, वैशाख ३ गते । नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवर्द्धन, नेपाली मौलिक खानाको प्रचारप्रसार गर्ने उद्देश्यले बेल्जियमको लुभेन सहरमा शनिबार एक दिने नेपाली मेला सम्पन्न भएको छ । 


गैरआवासीय नेपाली सङ्घ बेल्जियमको आयोजनमा हरेक वर्ष आयोजना भएको मेलामा नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली सङ्घसंस्थाको सहकार्य रहेको थियो । 

‘नेपाल प्रमोसन’अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन गर्नेसमेत उद्देश्य रहेको आयोजक एनआरएनए बेल्जियमले जनाएको छ । मेलामा नेपाली झाँकी, लाखे नाच, भेषभुषा खाना लगायतका स्टलहरू प्रदर्शनीमा राखिएको थियो ।


मेला सुरु हुनुअघि नेपाली मन्चेबाजा, किरात राईको साकेला सिलीले सहरको मध्यभागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरञ्जन लिनुका साथै मिनी नेपालले सहरलाई परिचित गराएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका (एनआरएनए)का उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली सङ्घ विश्वकै यूनिक संस्था भएको बताउनुभयो ।  

डा.शर्माले गैरआवासीय नेपाली सङ्घ बेल्जियमद्वार लुभेन सहरमा आयोजित नेपाली मेलालाई सम्बोधन गर्दै गैरआवासीय नेपाली सङ्घ विश्वै एक यूनिक संस्था भएको बताउनुभयो । उहाँले सङ्घको आयोजनामा भएको नेपाली मेलाले नेपालको पहिचान झल्काएको बताउनुभयो । 

नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवर्द्धन, नेपाली मौलिक खानाको प्रचारप्रसार गर्ने उद्देश्यले बेल्जियमको लुभेन सहरमा मेला आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लुभेन नगरपालिकाका मेयर महमद रिडवानीले नेपाली समुदायले लुभेन सहरमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । 

उहाँले नेपालमा गएको महाभूकम्पको बेला लुभेनबासीले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा नेपाल र नेपाली समुदायको हितमा मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 


उद्घाटन अवसरमा बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले नेपाली कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउन सक्रिय एनआरएनए बेल्जियमलाई धन्यवाद दिनुभयो । 

नेपाल महोत्सवमा युरोपियन युनियन, भारत, बङ्गलादेश, चीन, बुल्गेरीया, हंगेरी, काजकिस्तान, माल्दिप्स र श्रीलङ्काका राजदूतहरू तथा लुभेन नगरपालिकाका विभिन्न शाखा हेर्ने उपमेयरहरूको समेत सहभागिता रहेको थियो ।