• १६ चैत २०८०, शुक्रबार

चैत महिनामा बढ्यो वैदेशिक लगानी

blog

काठमाडौँ, वैशाख २ गते । चालु आर्थिक वर्षको चैत महिनामा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ । विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण घट्दै गएको वैदेशिक लगानी प्रतिबद्धता चैत महिनामा आएर एक्कासि बढेको हो । 

उद्योग विभागका तथ्याङ्कअनुसार चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

फागुन महिनामा एक अर्ब ९२ करोड नौ लाख रुपियाँ रहेको विदेशी लगानी प्रतिबद्धता चैत महिनामा बढेर सात अर्ब ५५ करोड रुपियाँ पुगेको हो । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले पछिल्लो समय आर्थिक गतिविधि चलायमान भई अर्थतन्त्र सुधार हुँदै गएपछि विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको जानकारी दिनुभयो । चैत महिनामा लगानी आउने सिजन भएकाले पनि लगानी वृद्धि भएको उहाँको भनाइ छ । विभागका अनुसार चैत महिनामा मात्र सेवामूलक परियोजना १६, पर्यटन नौवटा परियोजना र उत्पादनमूलक चार, पूर्वाधारमा दुई, कृषिमा आधारित एक, सूचना प्रविधिमा आधारित एक परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार चालु आवको साउन महिनामा दुई अर्ब ६४ करोड ९० लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । यस्तै भदौ महिनामा बढेर तीन अर्ब ४४ करोड ६५ लाख रुपियाँ र असोज महिनामा घटेर एक अर्ब ८५ करोड ४७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । कात्तिक महिनामा पुनः बढेर तीन अर्ब ६५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । मङ्सिर महिनामा भने घटेर ८० करोड ८० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै पुस महिनामा बढेर चार अर्ब ८५ करोड २० लाख रुपियाँ प्रतिबद्धता आएको फागुन महिनामा घटेर एक अर्ब ३९ करोडमा झरेको थियो । 

चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत)सम्म १९२ परियोजनामार्फत २८ अर्ब ११ करोड १८ लाख २३ हजार रुपियाँ वैदेशिक प्रतिबद्धता आएको हो । नौ महिनामा १९२ परियोजनामा १६५ साना उद्योग, २२ मझौला उद्योग र चारवटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । 

गत आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ३४ अर्ब ९२ करोड ८४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा चालु आवको नौ महिनामा छ अर्ब ८१ करोड सात लाख रुपियाँ कमी हो । रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा अघिल्लो वर्षको तुलनामा कमी आएको विभागको भनाइ छ । चालु आवको चैत महिनासम्म सबैभन्दा धेरै सेवामूलक परियोजना ८६, पर्यटनमा आधारित परियोजना ७०, उत्पादनमूलक २०, सूचना प्रविधिमा आधारित परियोजना आठ, पूर्वाधार सात र कृषिमा आधारित एक परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

गत मङ्सिर महिनादेखि विदेशी लगानीको सीमा पाँच करोडबाट घटाएर दुुई करोड रुपियाँमा झरेको थियो । लगानीको सीमा घटाएपछि ससाना लगानी परियोजना बढ्दै गएको विभागले जनाएको छ । 

विभागका अनुसार सुरुदेखि हालसम्म नेपालमा पाँच हजार ७२५ परियोजनामार्फत चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताअनुसार नेपालमा लगानी नआउने गरेको विभागको भनाइ छ । नेपालमा लगानी गर्छु भनेर प्रतिबद्धता गरेको एक तिहाइ विदेशी लगानी मात्र भित्रने गरेको विभागले जनाएको छ । प्रतिबद्धताअनुसार लगानी नआएपछि विभागले गत कात्तिक महिनादेखि विदेशी नागरिकको भिसा सिफारिसमा कडाइ गरेको जनाएको छ ।