श्यामशङ्कर पाण्डे
लुम्बिनी, वैशाख १ गते । भारतबाट फर्कनेमा कोभिड सङ्क्रमण बढ्दै जान थालेपछि लुम्बिनी प्रदेशका सीमानाकाहरूमा कोभिड जाँचमा कडाइ गरिएको छ ।
रुपन्देही जिल्लाको बेलहिया, नेपालगञ्जको जमुना, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलाबास नाकामा रहेका हेल्थडेस्कलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन थालिएको छ । यी नाकामा कोभिड सङ्क्रमण सुुरु हुनासाथ हेल्थडेस्क स्थापना गरेर सीमा वारि–पारि गर्नेहरूको स्वास्थ्य चाँज गर्न थालिएको छ ।
पछिल्ला दिनमा यो प्रदेशका नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोभिड सङ्क्रमित व्यक्ति नियमितजसो भेटिने गरेका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै सतर्क रहन एवं स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।
कोभिडका बिरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूलाई विशेष रूपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भइरहेको बाँके जिल्ला कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शङ्कास्पद व्यक्तिहरूको कोभिड परीक्षण गर्दा सङ्क्रमित भएकाहरू भेटिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।
चैतको महिनामा मात्र जमुनाह नाकामा ३० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकीबाहेक अन्य जटिल लक्षण भने देखिएको छैन । यसैबीच फेरि कोभिड सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गरेर सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न आग्रह गरेको छ । सङ्क्रमण फैलिन नदिन कोभिडविरुद्धको बुस्टर डोज दिने कार्यलाई पनि तीव्र पारिएको बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।
एक महिनामा ६७ सङ्क्रमित
केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि रुपन्देहीमा बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रूपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।
बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरूमध्ये भारतीय यात्रुमा तुलनात्मक रूपमा सङ्क्रमण बढी देखिएको छ । नाकामा सङ्क्रमण देखिएकाहरू आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा यसले सङ्क्रमणको जोखिम झनै बढाएको छ । केही समय पहिला सङ्क्रमित देखिएका भारतीय नागरिकलाई भारत फिर्ता पठाउने गरिए पनि अहिले त्यो अवस्था छैन ।
फागुनसम्म न्यून सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए पनि चैतमा यो सङ्ख्या बढेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा चैतमा सबैभन्दा धेरै १९ गते एकै पटक १७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालका अनुसार यो साता मात्रै ४१ जनामा कोभिड देखिएको छ ।
फागुन महिनामा नयाँ सङ्क्रमित २८ जना थियो । कोभिड सङ्क्रमण बढेसँगै केही समयता सुस्त रहेको स्थानीय प्रशासनले सीमामा सतर्कता बढाएको छ । सङ्क्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै रुपन्देहीमा सङ्क्रमण न्यूनीकरण गर्न तयारी सुरु गरिएको छ । जसमा अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापन, खोप एवं एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ ।
जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिले बेलहिया हेल्थ डेस्कको क्षमता वृद्धि गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । रुपन्देहीका सहायक नाकाका रूपमा रहेको लुम्बिनीको ककरहवा नाका र रोहिणीको भगवानपुर नाकामा पनि हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । सङ्क्रमणको जोखिम कम गर्न कोभिडविरुद्धको खोपलाई पनि तीव्रता दिने स्वास्थ्य कार्यालयको तयारी रहेको छ ।
पहिलो र दोस्रो मात्राको खोपका लागि रुपन्देही जिल्ला नै पूर्ण खोप जिल्ला सुनिश्चित भइसकेको छ । यस्तै बुस्टर डोजका रूपमा रुपन्देहीमा तेस्रो मात्राको खोप ६० प्रतिशतले र अहिले चौथो मात्राको खोप १० प्रतिशतले लगाएका छन् । अहिले पनि अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिकलगायतलाई प्राथमिकतामा राखी खोप लगाउने काम भइरहेको छ ।
कोइलाबासमा पनि हेल्थडेस्क राखिने
कोरोनाको जोखिम बढेपछि दाङको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना गरिने भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गढवा गाउँपालिकाले भारतसँगको सीमा जोडिएको कोइलाबास नाकामा कोरोना चेकजाँचका लागि हेल्थडेस्क स्थापना गर्ने भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख ३ गतेदेखि कोइलाबास नाकामा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य चेकजाँचमा कडाइ गरिने भएको हो । तत्कालका लागि हेल्थ डेस्कमा कोइलाबास स्वास्थ्य चौकीबाट एक जना स्वास्थ्यकर्मीलाई खटाइने र यात्रुहरूको चाप बढेमा थप जनशक्ति परिचालन गरिने स्वास्थ्य प्रमुख चौधरीले बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले हाल सीमा नाकाबाट आउ–जाउ गर्नेहरूलाई मास्क लगाउन अनिवार्य गरिनुका साथै स्वास्थ्य जाँचमा कडाइ गर्न थालिएको बताउनुभयो । स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्मर कुँवरले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रदेशमा अहिले भेरी अस्पताल र बुटवलको प्रादेशिक अस्पतालबाट कोभिडका बिरामीहरूले निःशुल्क रूपमा उपचार गर्न पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने कोभिडका बिरामीहरूले शुल्क तिरेर उपचार गर्नुपर्ने हुन्छ । तुलसीपुर प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोभिड भएको नभएको जाँचका लागि तयारी अवस्थामा राखिएको छ ।
कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो दुई सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो साता एक हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये नौ जनामा कोरोना देखिएको थियो ।
पोजेटिभ देखिएका नौ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो ।
अघिल्लो साता एक हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये लक्षण देखिएका ४८ जनालाई एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोना सङ्क्रमण देखिनेमा अर्घाखाँची, प्युठान, दाङ, कपिलवस्तु, गुल्मीका बासिन्दा बढिरहेका छन् ।
(लक्ष्मण पौडेल भैरहवा, सिराज खान नेपालगञ्ज, दिवाकर पोख्रेल, देउखुुरी र जानुु पाण्डे कपिलवस्तुुको सहयोगमा)