• ११ मंसिर २०८१, मङ्गलबार

सरुवापत्र बुझ्न मानेनन् शिक्षकले

blog

घोराही समाचारदाता

घोराही, वैशाख १ गते । घोराही उपमहानगरपालिकाले शिक्षकहरूको सरुवा गरे पनि सरुवा भएका धेरैजसो शिक्षकहरूले सरुवाको पत्र बुझ्न मानेका छैनन् । 

घोराही उपमहानगरपालिकाले चैत ८ गते १०१ जना शिक्षकको सरुवा गरेको थियो । तर सरुवा गरिएका अधिकांश शिक्षकहरूले पत्र अझै बुझेका छैनन् । सरुवा भएका शिक्षकहरू पत्र बुझ्न नआएपछि हुलाकमार्फत पत्र पठाउने तयारी भएको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार सरुवा भएका १५ जना शिक्षकले मात्र पत्र बुझेका छन् । 

वैशाख ३ गतेदेखि विद्यार्थी भर्ना अभियानसँगै शैक्षिक शत्र सुरु हुँदैछ । त्यसैले पत्र नबुझ्ने शिक्षकहरूलाई हुलाकबाट पत्र पठाउने तयारी गरिएको उहाँले बताउनुभयो । उपमहानगरपालिकाले गरेको निर्णय कार्यान्वन गर्न शिक्षकले सहयोग गर्नुपर्ने भए पनि शिक्षकका विभिन्न सङ्घ/सङ्गठनले दरबन्दी मिलानको नाममा राजनीतिक आस्थाका आधारमा शिक्षकहरूमाथि विभेद गर्ने काम भएको भन्दै निर्णय नसच्याउँदासम्म सरुवा पत्र नबुझ्न भनेका छन् । सङ्घ/सङ्गठनहरूले सम्बन्धित विद्यालयमा हाजिर नगराउनसमेत विद्यालयमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दबाब दिँदै आएका छन् । शिक्षकहरूले विरोध स्वरूप ज्ञापनपत्र बुझाउने, धर्ना दिनेलगायतका आन्दोलनका कार्यक्रमसमेत गर्दै आएका छन् । आन्दोलनमा शिक्षक महासङ्घलगायत शिक्षकका सङ्घ/सङ्गठनले पनि शिक्षकहरूलाई साथ दिएका छन् । नेकपा (एमाले) निकट शिक्षक सङ्गठन भने अहिले आन्दोलनमा छैन ।

राजनीतिक आस्थाका आधारमा शिक्षकहरूको अपायक सरुवा तथा नियमविपरीत सरुवा गरिएको भन्दै निर्णयहरू अविलम्ब सच्याउनसमेत माग गर्दै आएका छन् । विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी मिलान गर्नेसम्बन्धी विभिन्न समयमा शिक्षक महासङ्घ तथा पेसागत शिक्षक सङ्घ/सङ्गठनको औपचारिक/अनौपचारिक बैठक तथा छलफलमा भएका सहमतिविपरीत दरबन्दी मिलान गर्ने बहानामा शिक्षा ऐन/नियमविपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढङ्गले दरबन्दी मिलान गरिएको शिक्षक महासङ्घ घोराहीका सहअध्यक्ष हुमबहादुर राना बताउनुभयो । घोराही उपमहानगरपालिकाभित्र ९४ वटा समुदायिक विद्यालय रहेका छन् ।