• ९ पुस २०८१, मङ्गलबार

नयाँ वर्षले अवसरलाई सदुपयोग गर्न सकोस: पूर्वराष्ट्रपति भण्डारी

blog

काठमाडौँ, वैशाख १ गते । पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना दिनुभएको छ । नयाँ वर्ष २०८० साल र नयाँ दशक समेतको सुखद प्रारम्भको अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।   

नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा स्वागत गर्दै आएको र विगतको दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण गरेको समेत उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । दशकको मध्यतिर हासिल गरिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहेता पनि कोभिड–१९ महामारी लगायतका कारणले त्यसलाई निरन्तरता दिन सकिएन तर संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नका लागि जनताको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन  म सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिहरूमा अपिल समेत गर्नुभएको छ । 

आज हाम्रो सामु युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीहरूका निम्ति अवसर सृजना गर्ने तथा कृषि, शिक्षा र नवप्रवर्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठुलो चुनौती विद्यमान छ । समयको गतिसँगै प्राप्त हुने अवसरलाई सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न नयाँ वर्षले सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।