• ९ पुस २०८१, मङ्गलबार

दारिमका फूलमा अमर प्रेमका गाथा

blog

रवीन्द्र उप्रेती

बर्दिबास, वैशाख १ गते । विक्रम संवत्को नयाँ वर्ष अर्थात् वैशाख नजिकिने क्रमसँगै राजा सलहेशको नाम चर्चामा आउँछ। अहिले यसका लोकगीतले मधेश गुञ्जायमान छ। मिथिला संस्कृतिका शिखर पुरुषमध्ये सलहेशको जन्म दिन पनि हो नयाँ वर्ष अर्थात् वैशाख १ गते। मधेशको जनजीवनले आत्मसात गरेको सलहेशको स्मरण मात्रले उहाँका अनेकन छवि एकसाथ उपस्थित हुन्छ। 

उहाँको पूरा नाम जयवद्र्धन सलहेश हो। जो आफैँमा एक पराक्रमी राजा, मौलिक विचारक, प्रचण्ड योद्धा, प्रकृतिका सेवक अनि एक उत्कटप्रेमी। जसकी पे्रमिका दीना मालिनीको गहवर (देवस्थल) अहिले पनि सिरहाको लहानस्थित फूलबारी धाममा प्रेमको अमर प्रतीकका रूपमा विद्यमान छ। 

प्रेमको त्यो एकान्त कुनामा दारिमको रुख पनि छ। जहाँ केवल वैशाख १ गतेको दिन मात्र फुल्ने माला आकारको रहस्मय फूलले राजा र मालिनीको प्रेम गाथालाई ताजा बनाउँछ। साँझमा फेरि ओइल्याएर कालखण्डको साताैँ शताब्दीको अतितमा अर्को वैशाखसम्मका लागि अन्तध्र्यान हुन्छ। 

त्यो फूल फुलाउन फेरि वैशाख आउँछ। नयाँ वर्ष सुरु हुन्छ। राजा सलहेश र मालिनीको प्रेमगाथा फेरि जीवन्त बन्छ। जसको साक्षी बन्न नौ बिघामा पैmलिएको लहान फूलबारी धाममा आज फेरि (नव वर्ष) मानव सागर एकत्रित भएको छ। भनिन्छ साँझ परेपछि रुखमा ओइलाएका त्यो प्रतीकात्मक फूल सलहेश फूलबारी पुगेका चञ्चल आँखाहरूमा सधै फक्रिरहेका हुन्छन्। 

त्यो रहस्मय फूलको गाथा त्यही मात्र सीमित छैन। नव वर्षको भोलिपल्ट ‘जुड शीतल’ बनेर तराईका गाउँगाउँमा स्थापित सलहेशका हरेक गहवर (देवस्थल)मा जीवन्त हुन्छ। जहाँ जात्रा लगाएर उत्सव मनाएर आफ्ना धर्म संस्कृतिलाई पुनर्ताजगी पारिन्छ। 

अनि फेरि उही प्रश्न दोहोरिन्छ। ‘आखिर को हुन् त राजा सलहेश ?’ मिथिलाको हावापानी खेतखलो, गाउँघर, पशुपन्छी वन जङ्गल सर्वत्र लोकप्रिय राजा सलहेशका बारेमा यहाँका गाउँबस्ती अनि जनजनमा अनेकन कथा, गाथा र किंवदन्ती प्रचलित छन्। राजर्षि जनकपछि सलहेशलाई मिथिलामा प्रादुर्भाव भएको शिखर व्यक्तित्व मानिन्छ। आफ्नो कालखण्डमा स्थापित रुढीवादलाई पटकपटक अतिक्रमण गर्ने एक महान योद्धा जसको पराक्रम र प्रेरक नेतृत्वको चर्चाले मधेशका संस्कृति भरिएका छन्। 

राजा सलहेशका बारेमा प्रकाशित रचनाहरूमा महिसोथा उहाँको जन्म थलो भएको उल्लेख छ। अहिले यही महिसोथा सिरहा जिल्ला भएको छ। गौशाला नपा–११ लक्ष्मीनियाका तेजनारायण पासवानका बुझाइमा सलहेश दन्त्य कथाका कुनै अलौकिक र रहस्मय पात्र हैनन्। न पुराणका कुनै दैवीय शक्ति। 

उहाँका अनुसार मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको बेला राजा सलहेशको प्रादुर्भाव भएको मानिन्छ। राजा भएता पनि लोक कल्याणमा समर्पित भएकाले सलहेशलाई महानायक मानिएको पासवानको तर्क छ। “समाजमा शान्ति र मानव कल्याणका लागि अन्याय अत्याचारका विरुद्धमा समर्पित रहेकाले सलहेशलाई विशेषतः पासवान जातिले इष्टदेवका रूपमा पुज्दै आएका हुन्,” उहाँले बताउनुभयो। 

राजा सलहेश र मालिनीबीच प्रचलित प्रेमगाथाले पनि फूलबारी धामलाई प्रसिद्धि दिएको छ। किंवदन्तीअनुसार राजा सलहेश फूल टिप्न यही फूलबारीमा जान्थे। प्रतीक्षामा बसेकी प्रेमिका कुशमा मालिनीले फूलका माला मात्र अर्पण गर्दैन थिइन् तृषित नयनले राजामाथि प्रेमबाण पनि प्रहार गर्थिन्। 

यी दुईबीचका प्रेम प्रसङ्गलाई लिएर मिथिलाञ्चलमा ‘चलै छै मलिनीया छौँडी धरती दलकबैया, धरती के धुल आसमान मे उडैबै छै हो...’ जस्ता अनेकन लोकगीत प्रचलनमा छन्। भनिन्छ त्यो मिलनको साक्षी बनेका दारिमका रुखले हरेक नव वर्षको दिन फूलका हार बुनेर यी अमरजोडीको स्मरण र प्रेमको सुखद सन्देश दिँदै आएका छन्।