• ११ मंसिर २०८१, मङ्गलबार

सिरुवा पर्वको रौनक सुरु

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, वैशाख १ गते । नयाँ वर्ष २०८० प्रारम्भसँगै मोरङका विभिन्न क्षेत्रमा सिरुवा पर्वको रौनक सुरु भएको छ। राजवंशी र ताजपुरिया समुदायले मनाउने यो पर्व १५ दिनसम्म मनाउने चलन छ। 

कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका दक्षिणी गाउँमा मनाइने सिरुवा पर्व अचेल सांस्कृतिक रूपमा मनाउन थालिएको छ। विक्रम संवत्को नयाँ वर्षसँगै मोरङ र झापामा बस्ने अल्पसङ्ख्यक राजवंशी र ताजपुरियाको सिरुवा (पावनी) सुरु हुने गर्छ। भूमिपति राजवंशी र ताजपुरियाहरू मेला भर्न बर्सेनि घरखेत बेचेकै कारण अहिले भूमिहीन भएका बताइन्छ। परिवारबीच भेटघाट गर्ने, दैनिक भोजभतेर खाने र रमाइलो गर्ने चलनले भूमिहीन बनाएको राजवंशी समुदायका अगुवाहरू स्वीकार्छन्।  

परम्परागत रूपमा तीन दिनसम्म मनाइने यो पर्व अचेल झापा, मोरङ र सुनसरीमा वैशाख १५ गतेसम्म मनाउने गरिन्छ। पछिल्लो समय राजवंशी र ताजपुरिया मात्र होइन। तराईमा बसोबास गर्ने गनगाई, माझी, चौधरी, सन्थाल, सरदार, ऋषिदेवलगायतका समुदायले सिरुवा मनाउन थालेका छन्। 

नयाँ वर्षको वैशाख १ गते सुरु हुने सिरुवा पर्व राजवंशी र ताजपुरिया समुदायको मौलिक पर्व हो। पर्वको पहिलो दिन पानी सिरुवा मनाइने गरिन्छ। कतैकतै पहिलो दिन नै बिहान जल सिरुवा मनाएर दिउँसो काद अर्थात् हिलो सिरुवा मनाउने गरिन्छ। सिरुवासँगै आदिवासीका ग्रामथानहरूमा रहेका ग्रामदेवताको विशेष पूजा गर्ने र वर्षैभरि आ–आफ्नो गाउँमा कुनै किसिमको रोग ब्याध, हैजा महामारी वा दैवी विपत्ति नआओस् भन्ने कामना गर्ने गरिएको राजवंशी समाज विकास समिति मोरङका अध्यक्ष मनोज राजवंशीले बताउनुभयो। उहाँले भन्नुभयो, “आदिवासी समुदायका राजवंशी जातिले आफूलाई भूमिपुत्रका रूपमा चित्रण गर्दै ‘काद’ (हिलो) सिरुवा मनाउने गर्छन्। माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापाछ्याप गरी ‘काद’ सिरुवा मनाउने गरिन्छ।

त्यस्तै सिरुवा पर्वको अन्तिम तथा तेस्रो दिन ‘रङ’ सिरुवा मनाइने गरिन्छ। वर्षभरि आफूले इच्छाएका विभिन्न इच्छा चाहाना पूरा होस् भन्ने कामनाका साथ एकआपसमा रङ र अबिर दलेर रङ सिरुवा मनाउने गरिन्छ। गत वर्ष फलेका विभिन्न सातवटा तरकारीलाई मिसाएर ‘सातसागी’ बनाएर खाने चलन पनि छ। त्यस्तै ‘काद’ सिरुवाको दिन घरको कुल देवताको पूजापाठ गरी वर्षभरि घरपरिवार तथा परिवारका सदस्यमा कुनै दुःख कष्ट नपरोस् भन्दै वर्षभरिका लागि ‘चातर बाध्ने’ (विशेष पूजा) गरिन्छ।

मोरङको रतुवामाई–५, सुनवर्षी पोखरी र डाइनियाँबाट वैशाख १ गते औपचारिक रूपमा सुरु हुने मेला जिल्लाका दक्षिणी गाउँहरूमा वैशाख १५ गतेसम्म हरेक दिन लाग्ने गर्छ। अध्यक्ष मनोज राजवंशीले भन्नुभयो, “पहिले पहिले १५ दिनसम्म मनाउने मेलाले न्यून आय भएका व्यक्तिलाई टाट पल्टाउने गथ्र्यो। अहिले समय बदलिएको छ। मानिसहरू एक महिनाअघिदेखि सिरुवा पावनीका लागि खर्च जोहो गर्न थालेका छन्।”

यस्तै वैशाख २ गते सुनवर्षीको काँटामेला, दादरबैरियामा रणकाली मेला, वैशाख ३ गते कानेपोखरी–३ मा घुर्रघुरामेला, वैशाख ४ गते कानेपोखरी–२ मा दलेलीमेला लाग्ने गर्छ। दैनिक लाग्ने मेलामा आफन्त बोलाउने खुवाउने रमाइलो गर्ने, कोही कसैसँग आपसी सम्बन्ध बिग्रिएको छ भने सम्बन्ध खुलाउनका लागि यो पर्व विशेष दिन मानिन्छ। राजवंशी र ताजपुरियाहरूको यो पर्वमा १५ दिनसम्म पितृलाई सम्झिने गरिन्छ। बिहे गरेर दिएकी छोरी चेलीलाई घरमा हेला भएको छ भने यही पर्वको अवसरमा सम्बन्ध सुधार गर्ने चलन छ।

यसैगरी वैशाख ५ गते केराधाप मेला, वैशाख ६ गते चिसाङमा, वैशाख ७ गते बनिगामा र वैशाख ८ गते डङ्ग्राहामा मेला लाग्ने गर्छ। जिल्लाका पूर्वी गाउँहरूबाट क्रमशः पश्चिमतर्फ सर्दै जाने मेला झापा र सुनसरीमा पनि लाग्ने गर्छ। अध्यक्ष राजवंशीले भन्नुभयो, “राजवंशी र ताजपुरियाहरूको ग्रामथान जहाँजहाँ छ, मेला त्यहीँत्यहीँ लाग्छ। परम्परागत रूपमा लाग्ने मेलाहरू पछिल्लो समय नयाँ ग्रामथानहरूमा पनि लाग्न थालेको छ।”

विगतमा वैशाख १ गते मेला भर्न निस्किएकाहरू वैशाख १५ सम्म मेलामै रमाउने गर्थे तर पछिल्लो समय मेला मनाउने तरिकामा धेरै सुधार भएको राजवंशी समुदायका अगुवाहरू बताउँछन्। राजवंशी समुदायका अगुवा एवं रतुवामाई नगरपालिका–५ का पूर्ववडाध्यक्ष कन्हैयालाल राजवंशीले भन्नुभयो, “पहिलेपहिले मेलाका लागि जग्गा जमिन, बाख्रा कुखुरा नै बेच्ने चलन थियो। आम्दानीको अरू स्रोत नहुँदा मेला भर्न नै जग्गा, सुन, बाख्रा, गाई वस्तु, राँगा बेचेर खर्चको जोहो गर्ने चलन थियो।” मेला भर्ने निहुँमा धेरै राजवंशी भूमिहीन बन्न गएको बताउँदै उहाँले भन्नुभयो, “अचेल सचेतनाले गर्दा मेलामा खाने, रमाइलो गर्ने भन्दा आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्ने गरिएको छ।”