बाबुराम शर्मा
दोलखा, वैशाख १ गते । दोलखाको भीमेश्वर नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पर्यटनसँग जोडेर अगाडि बढ्ने भएको छ।
सुनसान बन्न लागेको नगरमा चहलपहल बढाउन स्वास्थ्य सँगसँगै पर्यटनलाई पनि अगाडि बढाउने कार्यक्रम ल्याउन लागिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताउनुभयो। यसका लागि स्वास्थ्य संस्था थप गर्न लागिएको उहाँले जानकारी दिनुभयो।
यस जिल्लामा प्रादेशिक अस्पताल सञ्चालनमा रहेको छ। नगरमा आयुर्वेद स्वास्थ्य केन्द्र मात्र रहेको छ। बागमती प्रदेश सरकारले ५० शय्याको पशुपति चौलागाईं स्मृति अस्पताल सञ्चालन गरिरहेको छ। आयुर्वेद पद्धतिलाई उत्तिकै प्राथमिकता दिन आयुर्वेद अस्पताल सञ्चालन गर्न पनि लागिएको छ।
नगरप्रमुख मानन्धरले भन्नुभयो, “प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउन आवश्यक भवन पनि निर्माण भइरहेका छन्। संरचना तयार भएपछि शय्या वृद्धि हुँदै जाने छ। विशेषज्ञमार्फत विशेष सेवा प्रदान गर्दै यहीँबाटै जटिलखाले सेवा पनि प्रदान गरिने लक्ष्य राखिएको छ। आगामी असोज महिनादेखि मिर्गौला डायलासिस, आईसीयूलगायतका सेवा प्रदान गरिने छन्। यो ठाउँ पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैँ पर्यटकीय स्थल बन्नेछ।”
सङ्घले आयुर्वेद अस्पताल स्थापनामा सहयोग गर्न लागेको र अस्पताललाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढिसकेको नगरप्रमुख मानन्धरले बताउनुभयो। अस्पताल सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल बढ्ने अपेक्षा राखिएको उहाँले जानकारी दिनुभयो।
जिल्लाबाटै सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यअनुरूप आँखा अस्पताल पनि सञ्चालनमा ल्याउन लागिएको छ। उहाँले भन्नुभयो, “आँखा अस्पतालका लागि जग्गा उपलब्ध भएको छ। तिलगङ्गा आँखा अस्पतालसँगको सहकार्यमा आँखा अस्पताल निर्माण तथा सञ्चालन गर्ने सहमति भएको छ। सबैखाले र विशेषज्ञ सेवा प्रदान हुँदा नगर चलायमान हुने छ।”