बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, वैशाख १ गते । अरनिको राजमार्गको धुलिखेलदेखि खावा सडकखण्डको चार किलोमिटर सडक स्तरोन्नति तथा सडक विस्तार कार्य सुरु भएको १० महिना बितिसक्दा पनि लक्ष्यअनुसारको काम नभएपछि निर्माण व्यवसायीसँगको सम्झौता रद्द गर्न दबाब बढेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मङ्गलबार सडकको कामको विषयमा आयोजना गरेको सर्वपक्षीय बैठकमा काममा ढिलाइ गर्ने निर्माण व्यवसायीसँगको सम्झौता तोड्नुपर्ने धारणा आएका हुन् ।
जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले अरनिको राजमार्गको धुलिखेल खावा सडकखण्डको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले १० महिनामा गरेको काम हेर्दा ऊसँगको ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले १० महिनामा १० प्रतिशत काम गर्ने निर्माण व्यवसायीबाट समयमा नै काम सम्पन्न हुनेमा आशङ्का रहेकाले सडक कार्यालयले ठेक्का तोड्न लाग्नुपर्ने बताउनुभयो । उहाँले एक साताभित्र निर्माणाधीन सडकभित्र रहेका खाल्टाखुल्टी पुरेर यात्रुलाई सहज आवतजावतको वातावरण बनाउन सडक कार्यालय लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सडक स्तरोन्नति तथा विस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले सबै कामको जिम्मेवारी लिनुपर्ने बताउँदै केही दिनअघि सडकको माटो र ढुङ्गा रातको समयमा बिक्री हुने गरेको थाहा पाएपछि रोकिएको बताउनुभयो ।
बैठकमा निर्माण व्यवसायी कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिका इन्जिनियर थानेश्वरप्रसाद शाहले सडकको काम दिइएको पेटी ठेकेदारले आफूहरूलाई जानकारी नै नदिई गुन्डागर्दी शैलीमा ३० हजार घनमिटर माटो र ढुङ्गा बिक्री गरेको आरोप लगाउन्ुभयो । उहाँले पेटी ठेकेदारको कारणले काममा ढिलाइ भएको बताउँदै केही दिनमा नै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बैठकमा नेपाली कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागार्इँले सडकको काममा ढिलासुस्ती भएका कारण नागरिकले दुःख भोग्नुपरेको चर्चा गर्दै सडकका खाल्टाखुल्टी छिटो पुरेर नागरिकलाई सहज यात्रा गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि जीएन सापकोटाले ठेक्का तोड्दा काममा थप ढिलाइ हुन सक्ने भएकाले निर्माण व्यवसायीसँग कति समयमा कति र के के काम गर्ने कार्यतालिका माग गर्नुपर्ने बताउनुभयो ।
बैठकमा डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख मेघराज मरासिनीले निर्माण व्यवायीसँग छलफल गर्नका लागि पटक–पटक ताकेता गर्दा बिरामी भएको लगायतका बहाना बनाउँदै छलफल र सम्पर्कमा नआउने गरेको बताउनुभयो । डिभिजन प्रमुख मरासिनीले निर्माण व्यवसायीले एक हप्ताभित्र चित्तझ्दो तरिकाले काम नगरे कारबाहीको लागि प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
उहाँले असारसम्म २० प्रतिशत काम गर्नुपर्ने अवस्था भए पनि कम्पनीको लापरबाहीका कारण त्यो काम हुन सक्ने अवस्था नरहेको भन्दै चार÷पाँच जना कामदार राखेर काम गरेकाले अहिलेको अवस्थामा काम भए १० वर्षसम्म पनि सडक नबन्ने दाबी गर्नुभयो ।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड १४ मिटरको फराकिलो बनाई ११ मिटर कालोपत्रे २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र सम्पन्न गर्ने गरी गत जेठ २० गते सम्झौता भएको थियो ।