काठमाडौँ, वैशाख १ गते । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग भेटेर टोलीले सर्वोच्च न्यायालयको नेतृत्वसहित अन्य न्यायाधीश नियुक्तिका लागि कानुनी बाटो खोलिदिन आग्रह गरेको हो । प्रतिनिधि सभामा विचाराधीन विधेयक पारित गरेर प्रक्रिया तत्काल अघि बढाउन बार पदाधिकारीसहितको टोलीले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्डले चाँडै प्रक्रिया सुरु गर्ने आश्वासन बारको टोलीलाई दिनुभएको छ ।
बार महासचिव अञ्जिता खनालले प्रधानन्यायाधीश नियुक्ति र अन्य समसामयिक विषयमा ध्यानाकर्षण गरेको बताउनुभयो । खनालले भन्नुभयो, “१४ महिनादेखि न्यायालयमा प्रधानन्यायाधीश नहुँदा निकै कठिनाइ भइरहेको छ । प्रधानमन्त्री नै संवैधानिक परिषद् अध्यक्षसमेत भएकाले हामीले असहजताबारे बताएका छौँ । प्रधानमन्त्रीले ३ गतेको प्रतिनिधि सभापछि सहमति वा प्रक्रियागत रूपमा गर्नुपर्ने काममा म अघि बढ्छु भन्नुभएको छ ।” बार टोलीले न्यायालयको विकृति विसङ्गति अन्त्यबारेको प्रतिवेदन कार्यान्वयनका लागि बजेट व्यवस्था गरिदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीले उक्त योजना कार्यान्वयन हुने गरी बजेट व्यवस्थापनको पनि प्रतिबद्धता जनाउनुभएको छ ।
बारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न अल्टिमेटम नै दिएकोे छ । केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १० दिनभित्र प्रक्रिया थाल्न समयसीमा दिएको हो । प्रक्रिया सुरु नभए दबाबमूलक कार्यक्रम अघि बढाउने बारले निर्णय गरेको थियो । निर्णयको जानकारीका लागि ज्ञापनपत्रसहित बार पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्तालगायतले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।