काठमाडौं, चैत ३० गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
बिहीबार कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो।
‘‘कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ। त्यो अनुकुल वातावरण बनाउँछु’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ।’’
उपप्रधानमन्त्री बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमा भएको बताउनुभयो। तर, साच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
एकातर्फ सीमित स्रोतसाधनका बाबजुत धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको श्रेष्ठले बताउनुभयो।
उहाँले नीति र विधि छाडेर अनावश्यक दबाबमा आफूले काम नगर्ने श्रेष्ठको भनाइ थियो। ‘‘अनावश्यक दबाब हामी झेल्छौँ। मैले झेल्छु’’, श्रेष्ठले भन्नुभयो। आफूले दबाब झेल्ने बताउनुहुँदै श्रेष्ठले विभागका अधिकारीलाई तत्काल सुधारका लागि अगाडि बढ्न निर्देशन दिनुभयो।
‘‘तत्काल के के गर्नुपर्छ भन्ने सूची बनाउनुस्। त्यो लिस्ट आओस्। हामी त्यसलाई कार्यान्वयनमा लान्छौं’’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो।
उहाँले यथास्थितिमा जस्तो चलिरहेको छ त्यस्तै चलिरहोस् भनेर अब नहुने श्रेष्ठले बताउनुभयो। अब विकृति र खराब कार्यमा व्यापक परिवर्तन आवश्यक रहेको उहाँको भनाइ छ।
ब्रिफिङका क्रममा विभागका अधिकारीले सीमित स्रोत साधनका बाबजुत धेरैको व्यवस्थापन गर्नुपरेको। क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको गुनासो गरेका थिए। त्यस्तै भौतिक पूर्वाधार तथा बजेट लगायका कारण व्यवस्थापनमा समस्या भइरहेको गुनासो उपप्रधानमन्त्रीसमक्ष गरेका छन्।