• १३ वैशाख २०८१, बिहिबार

उत्पादन बढाउन माटोको सुधारमा जोड दिनुपर्छ : अध्यक्ष ओली

blog

झापाको मेचीनगरमा किसानसँग अध्यक्ष ओली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, चैत ३० गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन बढाउन सबैभन्दा पहिले माटोकोे सुधार तथा उपचार आवश्यक रहेको बताउनुभएको छ । कमल गाउँपालिकाको – ५ स्थित आदिबासी रंगशालामा शुक्रबार अखिल नेपाल किसान महासंघको ७ औं राष्ट्रिय महासम्मेलनको उदघाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

उपयुक्त जमिन र हावापानी भए पनि उत्पादन बढ्न सक्दैन, ओलीले भन्नुभयो । आज माटो गम्भीर विरामी छ र विषादीली माटो उत्पादन नै दिन नसक्ने अवस्थामा पुगेको छ, उहाँको भनाइ छ ।  अध्यक्ष ओलीले माटो रुखिएर उत्पादन दिन नसक्ने अवस्थामा पुगेको भन्दै माटोको सुधार र उपचारमा लाग्न आग्रह गर्नुभयो । “उत्पादन बढाउनु छ भने पहिलो विरामी माटोको उपचार गर्नुपर्छ र थप विरामी हुनबाट रोक्न आवश्यक कदम चाल्नुपर्छ” उहाँले भन्नुभयो ।

माटोले जब उत्पादन दिन नसक्ने अवस्थामा पुग्छ त्यसले माटो उपचारका लागि आवश्यक नीति बनाउन जरुरी देखिएको ओलीको भनाइ छ । उत्पादन र उत्पादकत्व बढाउने कुरा माटोको उपचारबेगर सम्भव नभएको उहाँले बताउनुभयो । हामीले अब पनि माटो सुधारका लागि आवश्यक कदम चाल्न सकेनौं भने उत्पादन बढाउन सक्दैनौ, उहाँले भन्नुभयो ।

सुधार नभएको र बिषादीयुक्त माटोबाट उत्पादन भएको सामग्री उपभोगले मानव स्वास्थ्यमा पनि गम्भीर असर पुग्ने भन्दै ओलीले कृषि क्षेत्रको सुधारका लागि माटो सुधारलाई नै राज्यले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । बुधबार मात्र झापाको शिवसताक्षी नगरपालिकामा ओलीले दक्षिण एशियाली कृषि सम्मेलन उदघाटन गर्नुभएको थियो । 

महासम्मेलनको उदघाटनमा बोल्दै एमाले महासचिव शंकर पोखरेल किसान सस्कृतिको जगेर्ना आवश्यक रहेको बताउनुभयो । खेती किसानी पनि एउटा संस्कृतिको रुपमा विकास भएको छ र यसको जगेर्नामा हामी लाग्नुपर्छ, उहाँले भन्नुभयो । 

पुर्व अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेलले कृषिको आधुनिकरण र ब्यवसायीकरणका लागि राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले कृषिको रुपान्तरणका लागि आधुनिकरण आवश्यक रहेको चर्चा गर्नुभयो ।