• १२ मंसिर २०८१, बुधबार

लामो समय उपचार नपाउँदा बालकको बिचल्ली

blog

भाइ मनिसको उपचारमा अस्पताल पुगेकी दिदी मनिसा । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत ३० गते । कालीकोटको पचालझरना गाउँपालिका –४ का दुई वर्षका बालक मनिस न्यौपानेको घाउको लामो समय उपचार गर्न नसक्दा हातमा किरा परेका थिए । उपचार अभावमा बालकको विचल्ली भएको थियो ।

गत मङ्सीर २ गते आगोमा उनको हात पोलिएको थियो । उपचार हुन नसक्दा पोलिएको घाउ बल्झिएको घरका सदस्यको भनाइ छ । पचार गर्ने रुपियाँ नहुँदा अस्पताल लग्न नसकिएको परिवारका सदस्यले बताएका छन् ।  

स्वास्थ्य चौकीमा सामान्य उपचार गर्दा ठीक नभएपछि अहिले उनलाई जिल्ला अस्पताल मान्म लगिएको छ । आर्थिक अभाव र तत्काल अप्रेशन गर्नुपर्ने भएकाले जिल्ला अस्पताल कालीकोटमा कार्यरत डा. रमिता नाथयोगीको पहलमा अस्पतालका कर्मचारीले केही रकम जम्मा गरेर घाउ अप्रेसनका लागि बालकलाई काठमाडौं लगिएको उनका दिदी मनिसा न्यौपाने (१६) ले बताइन् ।    

बुवा महनलाल न्यौपानेको खुट्टा सुनिएको छ । उपचार नपाएर घरमै थला पर्नुभएको छ ।  आमा वाटु न्यौपानेको पनि हातखुट्टा चल्दैन । यस्तो कठिन अबस्थामा पनि मनिसाले मनकारीको सहयोगमा भाइको उपचार गर्ने अठोट लिएकि छन् ।  

किर्तीपुर अस्पतालमा चार दिनसम्म राख्दा पनि ज्वरोले नछाडेपछि उपचार नै नगराई मनिसाले भाइलाई घर ल्याएको बताइन् । जिल्ला अस्पताल कालीकोटमा कार्यरत डा. रमिता नाथयोगीले जिम्मा लिएर निःशुल्क अप्रेसन गरिदिनुभएको छ ।

डा. रमिताले अब अरु ठीक भएको र बच्चा अपाङग भने हुने उहाँले बताउनुभयो । अप्रेसन पछि पनि हातका दुई औला जोडिएका कारण पुनः अप्रेशन गर्नुपरेको र अहिले घाउ बिस्तारै निको हुने चरणमा रहेको बताउनुभयो । अब भाइको हात निको होला भन्ने विश्वास लागेको छ मनिसाले भनिन् । यसै वर्ष एसईई परीक्षा दिएकी मनिसाले भाइको चिन्ताले पठनपाठनमा समस्या भएको बताइन् ।