• १३ मंसिर २०८१, बिहिबार

युवा सङ्घको अध्यक्षमा थेबे सर्वसम्मत

blog

युवा सङ्घ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेवे । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, चैत ३० गते । नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा चैत २७ गतेदेखि जारी महाधिवेशनले बिहीबार थेबेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

अध्यक्षका उम्मेदवार निवर्तमान कार्यसमितिका उपाध्यक्ष सन्तोष रावलले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष मण्डलका सदस्य एमाले  पोलिटब्युरो सदस्य तथा सङ्घका इन्चार्ज महेश बस्नेतले पदाधिकारी सर्वसम्मत भएको घोषणा गर्नुभयो । 

अध्यक्षमा निर्वाचित थेबे सङ्घका निवर्तमान महासचिव हुनुहुन्छ । यसैगरी उपाध्यक्षमा अमित लामा, कृष्णहरि केसी, पुष्पराज श्रेष्ठ, महाराज गुरुङ, सिता सुवेदी र रमेश तिवारी, प्रकाश गौतम सर्वसम्मत हुनुभएको छ । 

महासचिवमा सुमन पुरी सर्वसम्मत हुनुभएको छ । उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा निर्वाचित हुनुभएको छ । ६ जना सचिवको पद रहेकोमा सर्वसम्मत बनाउन उपमहासचिव र सचिव सरहका पद सिर्जना गरिएको छ । १७ जनाभन्दा बढी पदाधिकारी बनाउन नपाइने भएकाले कोषाध्यक्ष नराखी आर्थिक विभाग प्रमुखको रूपमा राकेश राई निर्वाचित हुनुभएको छ । 

यसैगरी लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाईँ, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा प्रवीण बोगटी, अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली तथा निर्वाचन आयोगको प्रमुखमा बलराम बेल्बासे, उपप्रमुखमा बाबु छत्कुली र सचिवमा गोपाल नेपाली सर्वसम्मत हुनुभएको छ ।