• ७ वैशाख २०८१, शुक्रबार

बाँझो जमिनमा कागती र सुन्तला खेती

blog

बुलिङ्गटार –४ सिंचाङ्गको बाँझो जमिनमा गरिएको कागती र सुन्तला खेती । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, चैत ३० गते । पूर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङ्गटार –४ सिंचाङ्गको बाझो र भिरालो जमिनमा व्यावसायिक कागती र सुन्तला खेती सुरु गरिएको छ । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्टाउन नमिल्ने, सिँचाइसहितका विविध समस्याहरू झेलेका स्थानीयहरू अहिले कागती र सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । डाँडापाखामा कागतीमा फुल खेल्न थालेको देखेपछि स्थानीयहरू दङ्ग छन् ।

स्थानीय टिकिसरा थापा मगरलाई पहिले झाडी भएको जग्गामा किन खेती गर्न लागेको होला भन्ने लागेको थियो । भिरालो जमिनमा मल, जल नअडिने हुँदा बाली लगाउन समस्या भएपछि बारीहरू बाँझै छाडने गरेको थापाले बताउनुभयो । 

“एक वर्षमा आधा वर्ष यहाँ भएको उब्जनीले खान पुग्दैन, कुखुरा, बाख्रा, बङ्गुर बेचेर खानुपर्छ, आम्दानीको स्रोत भनेको नै यही हो” उहाँले भन्नुभयो “अब डाँडापाखाको जमिनमा पनि मिहेनत गर्न सके आम्दानी गर्न सकिन्छ भन्ने बल्ल सोच आएको छ, भिरालो जमिनमा पनि कागती खेती हुने थाहा भयो, अब जमिन बाँझो नराख्ने योजना छ ।”

विदेश जाने तयारीमा रहनुभएका स्थानीय रेखबहादुर राना मगरलाई विदेश नगएर यहीँ कर्म गरेकोमा खुसी लागेको छ । हिजोआज रेखबहादुर जिल्लाको विभिन्न स्थानसँगै चितवन, लमजुङसम्म बिरुवा कलमी गर्न जाने गर्नुभएको छ । “विदेशमा जत्ति गर्ने मिहेनत पनि गर्नुपरेको छैन, अहिले फर्मको मासिक तलबसँगै बिरुवा कलमी गरेर आम्दानी गर्ने अवसरहरू मिलेको छ” उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीबाट फर्किएर विभिन्न क्षेत्रमा काम गरे पनि स्वदेशमा नै आत्मनिर्भर बन्न कृषिमा नै लाग्नुपर्ने देखेपछि दीपक चापागाईँले सफल कृषि फर्म दर्ता गरी सुन्तला खेती सुरु गरेको बताउनुभयो । “जिल्लामा नर्सरी नहुनु, स्वस्थ बिरुवा पाउन गाह्रो, अन्यत्रबाट ल्याउँदा बिरुवा हुर्काउन समस्या भएको हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वयमा फर्मका सञ्चालक चापागाईँले भन्नुभयो ।

देवचुली नगरपालिकाका दीपक चापागाईँ र देवी भुसालका अनुसार वि.सं. २०७६ मा लगाएको कागतीले फुल खेल्न थालेपछि भिराला जमिनहरू हरियाली देखिएको छ । बजार मूल्य राम्रो रहेको सुनकागती एक जातका कागतीहरू अहिले यहाँ फुलिरहेको उहाँहरूले बताउनुभयो । 

अहिले फुलेका कागतीहरू अब साउनमा बिक्रीका लागि तयार हुने गर्दछ । ७० रोपनीमा २ हजार कागती फुलेका छन्, जसमध्ये एक हजार कलमी र एक हजार विजु बिरुवाका कागतीहरू हुन् । लिफ्टिङ्गमार्फत प्रत्येक बिरुवामा सिँचाइका लागि पाइप विस्तार गरिएको छ भने आवश्यक मलका लागि फर्ममा नै पाडाहरू पालिएका छन् । 

बौदीकाली गाउँपालिका –६ नेवारवारीमा सुन्तलाको बगैँचा रहेको छ । यहाँ ३५ रोपनी क्षेत्रफलमा एक हजार सुन्तलाको बोटमा फुल खेल्दै छ । पाँच रोपनीमा सुन्तला र कागतीको नर्सरी रहेको छ । सुनकागती १ र सुन कागती २, स्थानीय जातका सुन्तलाको बिरुवा कलमी र विजुगरेका २५ हजार बिरुवाहरू हुर्किरहेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानसहित दुई करोडको लगानीमा बगैँचा र नर्सरी खेती गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रबाट बिरुवा, सिँचाइका लागि टङ्की, पाइप विस्तार लगायतमा सहयोग पाएको सञ्चालक देवी भुसालले बताउनुभयो ।