• १२ मंसिर २०८१, बुधबार

मीठा नारा र भाषणले देश चल्दैन : नेता सिंह

blog

नेपाल प्रेस युनियन तनहुँले गरेको कार्यक्रममा सहभागी नेता सिंह । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत ३० गते । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मीठा नारा भाषण दिँदैमा देश नचल्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बिहीबार बन्दीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो । 

नेता सिंहले नयाँ खुलेका पार्टी धेरै समय टिक्न नसक्ने दाबी गर्नुभयो । “नयाँ दल आए टिक्न गाह्रो हुन्छ, सिंहले भन्नुभयो, “नारा दिन सजिलो होला, नारा कार्यान्वयन गर्न कठिन हुन्छ’’ । नयाँ खुलेका दलको दुर्दशा के छ भन्ने कुरा देखिएको र देश चलाउने सामर्थ्य नभएको उहाँले बताउनुभयो । 

प्रजातन्त्र पुनर्स्थापन गर्ने आन्दोलनदेखि लिएर कसको भूमिका रहेको छ भन्ने कुरा लेखाजोखा सबैले गर्न सक्छन् सिंहले भन्नुभयो, “मीठा नारा र भाषण दिँदैमा यथार्थमा परिणत हुँदैन ।’’ तनहुँबाट गोविन्द भट्टराईलाई जिताएर पठाएमा मन्त्री बन्ने प्रबल सम्भावना भएको सिंहको भनाइ छ । 

भट्टराई उच्च कदको नेता भएकाले जितको सम्भावना बढी भएको उहाँले चर्चा गर्नुभयो ।  नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सभापति भएर आफ्नो कार्यकालमा कुशलतापूर्वक काम गरेकाले मन्त्री बन्ने अवसर आउने र त्यसका लागि आफूले पनि पहल गर्ने नेता सिंहले बताउनुभयो ।  

सिंहले आफू मन्त्री हुँदा भट्टराईले तनहुँका लागि धेरै शीर्षकमा बजेट माग्न धाएको र अन्य मन्त्रालयमा पनि धाएर बजेट पारेको स्मरण गर्दै सिंहले पदमा नहुँदा पनि जनताका लागि काम गर्ने नेता भट्टराई भएको बताउनुभयो । ‘कैयौँ पटक लौ न मेरो क्षेत्रमा बाटोको लागि, पानीको लागि, स्वास्थ्यका लागि बजेट चाहियो भन्दै आउनुहुन्थ्यो” सिंहले भन्नुभयो । 

भट्टराईले देशको, जिल्लाको र आफ्नो क्षेत्रको सेवा गर्छु भन्दै आउँदा खुल्ला दिलले स्वागत र सम्मान गरी मतदान गरेर जिताउन उहाँले आग्रह गर्नुभयो । यही ठाउँको, यही गाउँको मान्छे, जसले बषौंदेखि केही गरौँ भन्ने भावनाले काम गरिरहेको छ त्यस्तो व्यक्तिलाई जिताउन आवश्यक छ उहाँले बताउनुभयो । 

जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टराईमा भएको भन्दै सिंहले सुख दुःख र अप्ठ्यारो बुझ्ने नेता भट्टराई भएको चर्चा गर्नुभयो । सिंहले स्वतन्त्रबाट उठेका स्वर्णिम वाग्ले अवसर पाउन्जेल कांग्रेसबाट अवसर लिएको र नपाएपछि पार्टी छाडेर हिँडेको उहाँले आरोप लगाउनुभयो ।