अर्जुन काफ्ले
स्याङ्जा, चैत ३० गते । छ वर्षपहिला गोरेटो बाटो प्रयोग गरेर हिँड्नुपर्ने हरिनाश गाउँपालिकामा सडक निर्माणले फड्को मारेको छ।
जिल्लाको विकट पालिकामध्येको हरिनाशमा पाँचवटा सडक योजनामार्फत एकै पटक ३३.५ किलोमिटर सडक कालोपत्रे हुन थालेको हो । पालिकाको कार्यालय रहेको चुलीडाँडालाई जोड्ने गरी सडक कालोपत्रेको कामले तीव्रता पाएको हो।
यहाँ मिर्दी–क्याक्मी–भिमाद खण्ड (राते पहाडदेखि चित्रे हुँदै गिरकोट) १० किमिमध्ये सात किमि र दुलेगौँडा हुँदै ढोरवाराही–जुगीफाँट–चिसापानी सडक १६ किमिमध्ये १३ किमि कालोपत्रे हुन लागेको हो। हरिनाशमा पर्ने सडक पूर्वाधार विकास कार्यालय स्याङ्जाले काम अगाडि बढाएको हो।
यस्तै नौ किमि हरिनाशमा पर्ने घुम्ती–चिसापानी हुँदै चित्रे सडकको काउले–खुदी–सालडाँडा खण्ड सडक डिभिजन कार्यालय पोखराले र दग्दीदेखि कुलुङखोला हुँदै दोभानसम्म पाँच किमि कालोपत्रेको काम पालिकाले अगाडि बढाएको हो।
तनहुँको अरुणोदयबाट सुरु भएको मिर्दी–क्याक्मी–भिमाद सडक २९ करोड ८० लाख ४१ हजार ६६४ रुपियाँ लागतमा ओयसिस इन्जिनियरिङ एन्ड बिल्डर्स प्राइभेट लिमिटेड काठमाडौँले काम गरेको हो। साढे दुई वर्षमा सवा सात मिटर चौडाइको बाटो कालोपत्रे गर्ने गरी २०७६ मङ्सिर ८ गते निर्माण कम्पनीले सम्झौता गरेको थियो। समयमै काम नसकेपछि ओयसिसले आगामी वैशाख ३० गतेसम्म म्याद थप गरेको र काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो।
यस्तै दुलेगौँडा हुँदै ढोरवाराही–जुगीफाँट–चिसापानी सडक गोल्डेन गुड÷बानियाँ जेभी हेटौँडाले २०७७ जेठ १५ मा सम्झौता गरेर काम अगाडि बढाएको हो। प्रदेश सरकारको गाउँपालिका जोड्ने कार्यक्रमअन्तर्गत साँखे हुँदै चुलीडाँडा पुग्ने सडक ३२ करोड ६५ लाख ४७ हजार १४९ रुपियाँमा काम भइरहेको अर्यालले बताउनुभयो। उहाँले दुई वर्षमा काम सक्ने सम्झौता गरेकोमा एक वर्ष समय थप गरेर काम अगाडि बढाएको र आगामी जेठ ७ गतेसम्म समय रहेको र ५५ प्रतिशत काम प्रगति रहेको बताउनुभयो
यस्तै निर्वाचन क्षेत्र सडक कार्यक्रमअन्तर्गत घुम्ती–चिसापानी हुँदै चित्रे सडक १८ करोड ८४ लाख ५० हजार १८० रुपियाँमा टुन्डी आरएस जेभीले २०७९ असार १९ गते २७ महिनामा सक्ने गरी सम्झौता गरेर काम अगाडि बढाएको हो। अस्पाल्ट प्रिमिक्स कालोपत्रे गर्ने गरी काम अगाडि गरेकोमा आठ महिनामा ३० प्रतिशत प्रगति गरेको सडक डिभिजन पोखराले जनाएको छ।
दग्दी–दोभान सडकको पाँच किमिमध्ये एक खण्ड तीन करोड २३ लाख २१ हजार १२४ रुपियाँमा चाम्पेस्वर सिमरन जेभी काठमाडौँले काम गरेको छ। एक खण्ड तीन करोड ५३ लाख २२ हजार २८४ रुपियाँमा पराजुली कन्स्ट्रक्सन लमजुङले काम गरेको छ। डेढ किमि कालोपत्रे गर्ने गरी पालिकाले एक खण्ड टेन्डर गरेको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो।