• १२ मंसिर २०८१, बुधबार

चिकित्सक नहुँदा बिरामीलाई सास्ती

blog

घोराही समाचारदाता

घोराही, चैत ३० गते । दाङको बङ्गलाचुली गाउँपालिका–४, कमिरेचौरमा रहेको ‘बङ्गलाचुली अस्पताल’ विगत सात महिनादेखि चिकित्सकविहीन बनेको छ। 

अस्पतालमा कार्यरत डा. वसन्त शाह अध्ययनका लागि बाहिर गएपछि अस्पताल डाक्टरविहीन हुन पुगेको हो। अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई स्वास्थ्य उपचारमा समस्या परेको छ। 

अस्पताल सञ्चालन भएको करिब छ महिना चिकित्सक शाह बसेर बिरामीलाई सेवा दिनुभएको थियो। करिब १० करोड रुपियाँको लागतमा निर्मित १५ शय्याको यो अस्पतालमा चिकित्सक नहुँदा नागरिकहरू स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु परेको स्थानीय हिमा महराले बताउनुभयो। 

स्थानीय सरकारले अस्पतालको उचित व्यवस्थापन गर्न नसक्दा अस्पताल डाक्टरविहीन हुनका साथै उपचारका लागि सदरमुकाम घोराही नै पुग्नुपर्ने बाध्यता रहेको बङ्गलाचुली–५, मुर्कुटी निवासी अम्मरबहादुर राउतले बताउनुभयो। पहाडी क्षेत्रका रूपमा रहेको बङ्गलाचुली गाउँपालिकामा अस्पताल सञ्चालनमा आएपछि उपचारमा सहज भएको थियो।

सङ्घीय र स्थानीय सरकारको साझेदारीमा निर्माण भएको यो अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो।  बङ्गलाचुली अस्पताल गाउँपालिकाको आफ्नै व्यवस्थापनमा सञ्चालनमा भएको अस्पताल हो। पालिकामै अस्पताल निर्माण गरेर जनतालाई सेवा दिने प्रयास जारी रहे पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा अस्पतालले जनतालाई सेवा दिन नसकेको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन बताउनुहुन्छ। 

सङ्घीय सरकारले जनशक्तिका लागि दरबन्दी मिलान गरी पठाउने आश्वासन दिए पनि हालसम्म कोही कसैलाई नपठाएको र स्थानीय स्रोतसाधनबाट डाक्टर ल्याउन खोज्दा कोही आउन नमानेको उहाँले बताउनुभयो।  सो अस्पतालमा पाँच नर्सिङ, चार पारामेडिक्स, एक ल्याब असिस्टेन्ट, तीन कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर र एक एम्बुलेन्स चालक गरी १५ जनाको जनशक्ति छ।