• १३ मंसिर २०८१, बिहिबार

दाउरा प्रयोग गर्ने परिवार घट्दै

blog

बुटवल समाचारदाता

बुटवल, चैत ३० गते । लुम्बिनी प्रदेशमा खाना पकाउन दाउराको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या घट्दै गएको देखिएको छ। राष्ट्रिय जनगणना–२०६८ अनुसार लुम्बिनी प्रदेशमा ७१ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा प्रयोग गर्थे। त्यसको १० वर्षपछि राष्ट्रिय जनगणना–२०७८ अनुसार लुम्बिनी प्रदेशमा खाना पकाउन दाउरा प्रयोग गर्ने घरपरिवारको सङ्ख्या करिब १८ प्रतिशतले घटेर ५३ दशमलव ६८ प्रतिशतमा झरेको छ। 

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार तराईमा भन्दा पहाडी जिल्लामा खाना पकाउन दाउराको प्रयोग बढी हुने गरेको देखिएको छ। 

अहिले पनि लुम्बिनी प्रदेशको पाल्पाबाहेक सबै पहाडी जिल्लामा ८६ प्रतिशतभन्दा धेरै घरपरिवारमा खाना पकाउन दाउराकै प्रयोग हुने गरेको छ। राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तराईका जिल्लामा कपिलवस्तु, दाङ र बर्दियाका ५० प्रतिशतभन्दा धेरै परिवारले दाउरा प्रयोग गर्छन्। तराईका अरू जिल्लामा दाउरा प्रयोग गर्ने परिवारको सङ्ख्या त्योभन्दा कम छ।

प्रदेशमै कम परिवारमा दाउरा प्रयोग गर्नेहरू रूपन्देही जिल्लामा छन्। रुपन्देहीमा २२ प्रतिशत परिवारले मात्र खाना पकाउन दाउरा प्रयोग गर्दै आएका छन्। त्यसैगरी खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार पछिल्लो १० वर्षमा चार गुणाले बढेका छन्। 

लुम्बिनी प्रदेशका ४२ दशमलव २ प्रतिशत परिवारले एलपी ग्यास प्रयोग गर्दा रूपन्देहीका ७१ दशमलव ७, नवलपरासीका ५६ दशमलव ३ र बाँकेका ५० दशमलव ८ प्रतिशत परिवारले एलपी ग्यास प्रयोग गरिरहेका छन्। प्रदेशभरि एलपी ग्यासको प्रयोग बढ्दो छ। खाना पकाउन बिजुली प्रयोग गर्ने घरपरिवार भने नगण्य छन्। 

सरकारका वार्षिक योजना र आवधिक योजनामा गोबरग्यास प्लान्ट स्थापनाका लागि सहयोग गर्ने र वन संरक्षणमा सघाउने कुरा आए पनि बायोग्यास प्रयोग गर्ने परिवार २ दशमलव ९ प्रतिशतबाट घटेर १ दशमलव ५ प्रतिशतमा झरेको छ। 

त्यसैगरी लुम्बिनी प्रदेशमा १० वर्षपहिले खाना पकाउन गोबर गुइँठा प्रयोग गर्ने परिवारको सङ्ख्या १० प्रतिशत रहेकामा अहिले दुई प्रतिशतमा झरेको छ। प्रदेशभरि गुइँठाको प्रयोग गर्ने परिवारको सङ्ख्या घटिरहेको भए पनि रूपन्देहीमा ४ दशमलव ८ प्रतिशत र कपिलवस्तुका ८ दशमलव २५ प्रतिशत परिवारले अहिले पनि गुइँठा प्रयोग गरिरहेका छन्।