सर्लाही समाचारदाता
सर्लाही, चैत ३० गते । केही सातादेखि गर्मी बढ्दै जाँदा सर्लाहीसहित तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ । विशेष गरी पूर्व–पश्चिम राजमार्ग दायाँबायाँ खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् । सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बागमती, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दीलगायत स्थानमा खरबुजाको व्यापार बढ्न थालेको हो ।
बरहथवा, बयलवास, मलङ्गवालगायत भित्री भेगका बजारमा पनि आर्थिक अवस्था कमजोर भएकाहरू गर्मीयाम भर धेरथोर आर्जन गर्ने उद्देश्यले खरबुजा बेच्न बसिरहेका देखिन्छन् । यहाँको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा खरबुजा प्रतिकेजी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको छ । तराईमा शीतलताका लागि खरबुजा किनेर खाने गरिन्छ ।
लालबन्दी बजारस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा खरबुजा बेच्न बस्नुभएका विनोद साहले यही चैत १२ गतेदेखि खरबुजा बेच्न सुरु गरेको बताउनुभयो । साहले गत वर्षजस्तो यस वर्ष खरबुजाको राम्रो व्यापार हुन नसकेको गुनासो गर्नुभयो । “बजारमा आर्थिक मन्दी भएर हामीजस्तो स–साना व्यापारीलाई पनि असर गरेको छ, पोहोर सालझैँ खरबुजाको व्यापार नै छैन्,” उहाँले भन्नुभयो, “यस्तो गर्मीमा त खरबुजा अत्यधिक बिक्री हुनुपर्ने हो तर भइरहेको छैन ।”
दैनिक चारदेखि पाँच हजारको खरबुजा बेचिरहेको साहले बताउनुभयो । बजारमा अहिले मानिसको चहलपहल नै नदेखिएको उहाँले बताउनुभयो । सर्लाहीमा पूर्वको सुनसरी, झापालगायत क्षेत्रबाट खरबुजा ल्याएर बिक्री गर्ने गरिन्छ । लालबन्दी बजारमै खरबुजा बेच्न बस्नुभएका अर्का व्यापारी सन्तोष साहले पनि यो वर्ष खरबुजा बेचेर टिक्नै गाह्रो परेको गुनासो गर्नुभयो ।
उहाँले यो वर्ष खरबुजा बेचेर बचत गर्नै नसकेको गुनासो गर्नुभयो । “ठूलो पुँजी भएकाले भारतबाट १२ चक्के ट्रकमा १०÷२० रुपियाँ केजीमै किनेर ल्याउँछौँ, हामी सानो पुँजी भएकाले त्यसरी ल्याउन सक्दैनौँ, हामीले ती ठूला व्यापारीसँगै किन्ने हो,” साहले भन्नुभयो, “व्यापारीसँग हामी नै ४० रुपियाँ केजीमा किन्छौँ, भाडासमेत गरेर ४५/५० रुपियाँ पर्न जान्छ, एक केजीमा १०/१५ रुपियाँ जति राखेर बिक्री गछौँ, त्यसमा पनि व्यापार नै भएको छैन ।”
राम्रो व्यापार हुँदा दैनिक एक हजारदेखि सात÷आठ हजार रुपियाँसम्मको खरबुजा बेच्ने गरेको उहाँले बताउनुभयो । आफूले खरबुजासँगै भूइँकटहर प्रतिगोटा दुई सय रुपियाँले बेच्ने गरेको साहले बताउनुभयो । खरबुजा र भुइँकटहर सिङ्गै र चाना काटेर पनि बेच्ने गरिन्छ ।