हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस १ गते । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बन्यजन्तुपीडित कृषकलाई आर्थिक सहायता प्रदान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले बन्यजन्तुबाट हानीनोक्सानी भएको पशुपालक कृषकलाई १५ लाख रुपियाँ वितरण गरिएको हो ।
सोमबार एक्याप लोमान्थाङले कृषकसँगको अन्तरक्रियामा बन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणसहित बन्यजन्तुको संरक्षण र पशुपालक कृषकको क्षतिपूर्ती वापतको राहत वितरणलाई अझै प्रभावकारी बनाउन सक्रिय रहेको बताइएको थियो ।
सोही अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तु २८ घरधुरीका एक सय पाँच वटा घरपालुवा जनावरमा भएको क्षतिपूर्ति बापत वितरणका लागि बाँकी रहेको राहत रकम बैंक खातामा जम्मा गरिएको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, ‘‘आहारको खोजीमा भौतारिने बन्यजन्तुबाट वर्षेनी पशुचौपायामा क्षति पु्याउने गरेको छ, घरपालुवा जनावरमा हुने क्षती काम गर्न आहारा प्रजातिका बन्यजन्तुको संंरक्षण गर्नुपर्छ ।’’
एक्यापले वितरण गरेको राहतमा घोडा १६ वटा, भेडाच्याङ्ग्रा ८४ वटा र याक पाँच वटाको राहत वितरण गरिएको थियो । बन्यजन्तुले मारेको पशुचौपायाको स्थलगत अनुगमनका क्रममा हिउँ चितुवाले ७७ वटा र खैरो ब्वाँसोको आक्रमणबाट २८ पशुचौपाया मरेको एक्यापले जनाएको छ । आर्थिक वर्ष २०८१–८२ मा बन्यजन्तुको आक्रमणबाट एक सय २५ वटा पशुचौपायाको राहत स्वरूप ११ लाख ३५ हजार रुपियाँ भुक्तानी गरिएको थियो । यसैबिच चालु आर्थिक वर्ष २०८२–८३ को पाँच महिनाको अवधिमा घरपालुवा पशुचौपायामा सबैभन्दा धेरै खैरो ब्याँसोबाट २४ वटा र हिउँ चितुवाले १९ पशुचौपाया मारेको छ । बन्यजन्तुबाट पशुचौपाया जोगाउनै मुस्किल हुने गरेको छ ।
एकल र समुहमा आएर किसानको गोठमा पालेका च्याङ्ग्रा, घोडाहरूमा क्षति पुर्याउन थालेपछि पशुधनीले आधुनिक खोरसहित सुरक्षाका लागि भोटे कुकुरको सङ्ख्या बढाउने गरेको छन् । एक्यापले किसानको गोठमा भएको क्षतिको विवरण सङ्कलन गरी राष्ट्रि«य निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागमा पठाउने गरेको छ । प्रक्रियागत ढिलाइका कारण आर्थिक वर्ष २०८१–८२ मा बन्यजन्तुबाट पशुधनको राहत अहिले वितरण भइरहेको छ । नेपाल सरकारले वन्यजन्तु क्षति निर्देशिकाअनुसार भेडाच्याङ्ग्रा क्षति भएका किसानलाई बढीमा प्रति पशु १० हजार रुपियाँ र प्रतिघोडा ६० हजार रुपियाँसम्म राहत दिने उल्लेख छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, वडा नं ५ को साङ्ता र चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका एक्याप इलाका कार्यालय लोमान्थाङअन्तर्गत पर्छ भने बाराजुङ मुक्तिक्षेत्रका बाँकी वडासहित थासाङ र घरपझोङ गाउँपालिका इलाका कार्यालय जोमसोम मातहतमा रहेको छ । दुबै इलाका कार्यालयबाट वर्षेनी बन्यजन्तुबाट हुने क्षतिपूर्ती वितरण गर्ने गरेका छन् ।