• १३ मंसिर २०८१, बिहिबार

मन्थली विमानस्थल व्यस्त: स्थानीयले लिन सकेनन् लाभ

blog

नवराज श्रेष्ठ

रामेछाप, चैत ३० गते । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ छ। नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल उडान गर्ने व्यवस्था गरेकाले अहिले मन्थली विमानस्थल बिहानैदेखि पर्यटकले खचाखच हुने गरेको हो। मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरले नियमित उडान गरिरहेका छन्। 

मन्थली विमानस्थलबाट दुई सिजन चैतदेखि जेठ महिनासम्म (वसन्त ऋतु) र असोज पहिलो सातादेखि मङ्सिर महिनाको १५ गतेसम्म (शरद ऋतु) लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका  प्रमुख अशोक थापाले बताउनुभयो। “अहिले सीता, तारा र समिट एयरले मन्थली–लुक्ला उडान गरिरहेका छन्, यी तीनवटा एयरलाइन्सले दैनिक ३५० भन्दा बढी पर्यटकलाई लुक्ला पु-याइरहेका छन्,” उहाँले भन्नुभयो। यो सिजन सुरु भएपछि सबैभन्दा बढी चैत २० गते झन्डै नौ सय पर्यटक एकै दिन मन्थली विमानस्थलबाट लुक्ला पुगेको उहाँले बताउनुभयो। लुक्ला पुग्ने पर्यटकमा अमेरिकी, युरोपेली र भारतीय नागरिक बढी रहेको उहाँले जानकारी दिनुभयो। 

व्यापार शून्य

ट्राभल एजेन्सीले पर्यटकलाई काठमाडौँबाट ल्याएर सिधै जहाजमा बोर्डिङ गराउँछन् र लुक्लाबाट रामेछाप ओर्लिएका पर्यटक लिन काठमाडौँबाटै गाडी आइपुगेका हुन्छन्। यसले गर्दा विमानस्थल विदेशी पर्यटकले खचाखच हुँदा मन्थली बजारमा भने चहलपहल बढेको छैन। व्यापार व्यवसाय नबढ्दा ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’जस्तै भएको स्थानीय व्यवसायी बताउँछन्। 

रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष शेखरमान श्रेष्ठले भन्नुभयो, “मन्थली विमानस्थलबाट दैनिक औसत चार सय पर्यटक लुक्ला पुगिरहेका छन् तर मन्थलीमा रहेका होटल, पसल तथा रेस्टुरेन्टको व्यापार बढेको छैन, मन्थलीमा पर्यटकलाई बस्ने र खाने राम्रो होटल छैन भन्नेजस्ता गलत समाचार सम्प्रेषण हुँदा असर परेको हो।” 

मन्थलीमा दैनिक एक हजार जनासम्म पर्यटकलाई व्यवस्थित बसोबास र खानपिनको राम्रो सेवा दिन सक्ने क्षमताका होटल रहेको र सबै होटलले रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घले तयार पारेको दररेटअनुसार सेवा दिइरहेको उहाँले बताउनुभयो। 

पर्यटकको आकर्षण नै तामाकोशी नदी

मन्थली विमानस्थल प्रयोग गरी लुक्ला जाने र फर्कने पर्यटकलाई लोभ्याउने प्रमुख थलो बन्न सक्छ अविरल बगिरहने तामाकोशी नदी। तामाकोशी नदी किनारकै प्रयोग गरी पर्यटकलाई मन पर्ने र उनीहरूलाई लोभ्याउने पूर्वाधारको विकास गर्न सके विमानस्थल आसपासकै तामाकोशीको किनार नै रामेछापको पर्यटक घुम्ने, बस्ने र रमाउने प्रमुख थलो बन्न सक्ने स्थानीयको भनाइ छ। 

सगरमाथाको आधार क्षेत्र सोलुखुम्बु जाने विदेशी पर्यटकलाई कम्तीमा एक दिन मन्थली बस्ने वातावरण तयार पार्नुपर्ने स्थानीय विपिन भट्टराईले बताउनुभयो। “तामाकोशी नदी किनार नै रामेछाप आएका पर्यटक घुम्ने, बस्ने र रमाउने प्रमुख थलो बन्न सक्छ, यसका लागि स्थानीय सरकारको अग्रसरतामा नदी किनारको सरसफाइ, ठाउँठाउँमा पर्यटकको रुचिअनुसारको घुम्ने र आराम गर्ने पार्कको निर्माण र ¥याफ्टिङ सञ्चालनजस्ता कार्य तत्काल गर्न आवश्यक छ,” उहाँले भन्नुभयो। मन्थली आएका पर्यटकलाई केही समय भए पनि मन्थलीमा घुम्ने वातावरण निर्माणका लागि मन्थली नगरपालिकाको गौरवको आयोजना निर्माणाधीन तीनलाल स्मृति पर्यटकीय पार्क छिटो निर्माण सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ। 

नगरपालिकाको प्रयास 

मन्थली नगरपालिकाले पर्यटन विकासका लागि अगाडि बढाएको निर्माणाधीन तीनलाल स्मृति पर्यटकीय पार्कलगायत नगरपालिकाभित्र निर्माणाधीन पूर्वाधार समयमै काम नहुँदा अलपत्र बनेका छन्। त्यस्ता आयोजनाको काम समयमै सक्नु अत्यावश्यक छ। 

मन्थली नगरपालिकाको पर्यटन विकासका लागि सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो। “पर्यटन विकासमा मन्थली नगरपालिका गम्भीर बनेको छ, यसबारे आगामी योजना तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव लिने काम गरेका छौँ, अब पर्यटन विकासका लागि स्थानीय सरकारले गर्न सक्ने काम गर्छ,” उहाँले भन्नुभयो। 

अहिले लुक्ला उडान भइरहेको मन्थली विमानस्थल व्यवस्थापनका विषयमा धेरै कुरा आइरहेकाले यसबारेमा नगरपालिकाले सम्बन्धित निकायसँग कुरा गरिरहेको उहाँको भनाइ छ। “मन्थली विमानस्थल आसपासलगायत बजार क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरी पर्यटकलाई घुम्ने, रम्ने र बस्ने वातावरण बनाउन सबैसँग सहयोग र सहकार्य गरेर नगरपालिका अगाडि बढ्छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो।