• १३ मंसिर २०८१, बिहिबार

धुलिखेलका होटलमा स्वास्थ्य सतर्कता

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, चैत ३० गते । कोरोना भाइरस, डेङ्गुलगायतका महामारीजन्य रोगको प्रकोप बढ्न थालेपछि काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेका होटल तथा रिसोर्टले स्वास्थ्य सतर्कता अपनाउने भएका छन्। 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड अनुगमन तथा व्यवस्थापन समितिको बैठकले धुलिखेलमा रहेका होटलमा स्वास्थ्य सतर्कता अपनाउने र विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेको हो। 

बैठकले धुलिखेलमा आउने पर्यटकलाई होटल तथा रिसोर्टले कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउन मास्क, सेनिटाइजरलगायतका सामग्रीको प्रयोग गर्ने, कोभिडलगायतका महामारीविरुद्ध काम गर्न क्षेत्रीय होटल सङ्घका पदाधिकारीसहितको समिति गठन गर्ने, प्रत्येक होटलमा जनस्वास्थ्य सम्पर्क व्यक्ति तोक्ने, होटलका जनस्वास्थ्य सम्पर्क व्यक्ति तथा सुपरभाइजरलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। 

यसैगरी धुलिखेलमा रहेका होटलले कर्मचारी तथा होटलमा आउने पाहुनामा कुनै स्वास्थ्य समस्या भए/नभएको विषयमा दैनिक स्वास्थ्य कार्यालयमा रिपोर्टिङ गर्ने तथा स्वास्थ्य कार्यालयले जनस्वास्थ्य सम्पर्क व्यक्ति तोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो। 

क्षेत्रीय होटल सङ्घ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ माकजूले धुलिखेल आउने पर्यटकलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था गरिने बताउनुभयो। बैठकमा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रम्ख डा. पुरुषोत्तमराज सेढाईले जिल्लामा बुधबारसम्म ३२ जना कोरोना सङ्क्रमित रहेको बताउनुभयो। उहाँले होटल सजावटमा राखिएका फूलदानीलगायतमा डेङ्गुका लामखुटुटे रहने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो।