• ६ वैशाख २०८१, बिहिबार

कृषि आधुनिकीकरणबाट समृद्धि सम्भव छ : अध्यक्ष ओली

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, चैत २९ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकरणबाट संवृद्धि हासिल हुने बताउनुभएको छ । झापाको शिवसताक्षीमा सुरु भएको दक्षिण एसियाली किसान सम्मेलनको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

भोलि बिहीबार झापाको कमल गाउँपालिकामा महासम्मेलन र शुक्रबार दक्षिण एसियाली किसान सम्मेलन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । सम्मेलन र महासम्मेलनको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले गर्ने तय भएको छ । कृषिले आधुनिकीकरण बाटो समाउन नसकेको उहाँको भनाइ छ ।  

“कृषिउपज जसरी बढ्नु पर्थ्यो त्यसरी बढेको छैन” अध्यक्ष ओलीको भन्नुभयो । निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिक कृषिमा अघि बढ्न चुनौती भइरहेको उहाँले चर्चा गर्नुभयो । कृषिमा आधारित उद्योग व्यवसाय सुरु गर्न सके मात्र व्यावसायिक रूप लिने उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले सहकारिताको माध्यमबाट कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न सकिने पनि चर्चा गर्नुभयो । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण तर्फ लैजान सहकारी वा सहकार्यको माध्यमबाट अघि बढ्नुको अर्को विकल्प नरहेको उहाँको भनाइ छ ।  

सानो मात्रामा उत्पादन हुने समस्याले बजारको समस्या हुने भएकाले ठूलो मात्रामा उत्पादन गर्दा बजारको समस्या नहुने पनि ओलीले बताउनुभयो । नेपाल कृषिप्रधान देश भएको भन्दै ओलीले दक्षिण एसियामा कृषिबाट बिस्तारै व्यवसायीकरणमा उन्मुख बन्दैगएको बताउनुभयो । 

अहिले पनि नेपालमा ६० प्रतिशतभन्दा बढी जनता कृषिमा आधारित रहेका छन् उहाँले भन्नुभयो । खाद्य सुरक्षा र खाद्य सम्प्रभुता नैसर्गिक अधिकारको रूपमा संविधानमा उल्लेख रहेको भन्दै अध्यक्ष ओलीले यसका लागि उपयुक्त नीति र कार्ययोजना बनाउन उहाँले सम्मेलनमा सहभागीलाई आग्रह गर्नुभयो । कृषि क्षेत्रका समस्याहरू र समाधानको उपाय खोज्न उहाँले सुझाव दिनुभयो ।

खाद्य सम्प्रभुता, कृषिको रूपान्तरण र किसान अधिकारसम्बन्धी दक्षिण एसियाली क्षेत्रीय सम्मेलन बुधबारदेखि सुरु भएको हो । विभिन्न विज्ञहरूको कार्यपत्र प्रस्तुति पछि त्यसमा छलफल भएको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दंगालले बताउनुभयो ।