• ६ जेठ २०८१, आइतबार

चलचित्रमा अभिनय नगरेकाहरूको सदस्यता खारेज हुने

blog

काठमाडौं, चैत २९ गते । नेपाल चलचित्र कलाकार सङ्घले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरूको सदस्यता खारेज गर्ने बताउनुभएको हो । 

उहाँले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरूले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरूको बारेमा जानकारी दिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, "सदस्यताको विषयमा कुरा आइरहेको छ । त्यसलाई हामी हाम्रो कार्यकालमा स्पष्ट गर्नेछौँ । जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौँ । सदस्य बन्नुभएकाहरुले सदस्य बन्दा धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दछौँ, अभिलेखीकरणका लागि आइदिनुहोस् ।"

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताउनुभयो । 

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरूले ७० लाखसम्म पारिश्रमिक बढाएको भन्दै कलाकार सङ्घले न्यूनतम पारिश्रमिक तोक्नुपर्ने माग गर्नुभयो । उहाँले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौती दिनुभयो । 

उहाँले भन्नुभयो, "आफ्ना मागहरू राख्नु कुनै गलत छैन तर अहिलेको परिस्थितिलाई हेरेर मात्रै आफ्नो पारिश्रमिक तोक्नुपर्छ । सात, आठ वटा फिल्मले मात्रै लगानी उठाउन सकेका छन् तर अन्य चलचित्र डुबेका छन्, पारिश्रमिक बढाउने कुरा आइरहेको छ, अहिले निर्माताहरुलाई फिल्म बनाउन नै धौधौ भइरहेको बेला स्टारहरूले ५० लाखदेखि ७० लाखसम्म लिने कुराले निर्माताहरूको लगानी सुरक्षित छैन, त्यसैले कलाकार सङ्घले स्टारहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम गरोस्, स्टारडमप्रति विश्वस्त भए निर्मातासँग पार्टनरसिपको रूपमा जानुस् ।"

त्यस्तै नेपाली चलचित्र कलाकार सङ्घका महासचिव सविन श्रेष्ठले कलाकार सङ्घले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरूलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय सङ्घले गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "सङ्घका नियमित सदस्यहरू जो नागरिकता अनुसार ७० वर्ष नाघिसक्नुभएको छ, उहाँहरूलाई निःशुल्क आजीवन सदस्य निर्णय भएको छ । कलाकारका हीत र चलचित्र उद्योगको प्रवर्द्धनका लागि सल्लाह दिनुहोला ।"

महासचिव श्रेष्ठले कलाकारका हित र चलचित्र उद्योगको प्रवर्द्धनका लागि कलाकार सङ्घ सदैव तयार रहेकोसमेत बताउनुभयो ।